क्रिकेट छुटाउन कलैयाबाट हेटौंडा लगेर राखिदिनुभयो, त्यहाँ पनि मैदान खोजेर खेलेः अनिल साह


eShilalekh

१३ असार २०८१, बिहीबार १०:४८

अमेरिका र वेष्ट ईण्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिलकुमार साह गृह जिल्ला बारा फर्किएका छन् । राष्ट्रिय टिमका ब्याटर साह गृह जिल्ला प्रवेश गर्दैगर्दा बारा जिल्ला क्रिकेट संघ र मधेस प्रदेश क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका छन् । साहलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह र उपप्रमुख रौशन परविनले एक लाख एक हजार नगदले सम्मानित समेत गरेका छन् । विश्वकप खेलेर बारा आएका क्रिकेटर साहसंग गरिएको अन्तर्वार्ता संक्षेपमा ।

टी–२० विश्वकप खेलेर फर्किनुभएको छ । कस्तो रहयो विश्वकप यात्रा?

धेरै उपलब्धीमूलक रहयो । टेष्ट मान्यताप्राप्त देशहरुसंग खेल्न पायौं । धेरै कुरा सिक्ने अवसर पायौ । खेल्ने तरिका समान थियो तर हामीसंग अनुभवको कमी मात्रै रहयो । अनुभवको कमीले गर्दा मात्रै हामी केही पछाडी पर्यौ जस्तो मलाई लागेको छ ।

व्यक्तिगतरुपमा यो भ्रमण तपाईंका लागि कत्तिको लाभदायक बन्यो?

सबै खेलाडीको सपना हुन्छ विश्वकप खेल्ने । हामीले त्यो सपना पूरा गर्ने अवसर पाएका थियौं । मैले पनि क्रिकेट खेल्न सुरु गर्दै गर्दा विश्वकप खेल्ने अवसर पाउँछु भनेर सोचेको थिईन । भबिष्य भन्दा पनि त्यतिबेला रहर थियो क्रिकेट खेल्ने, खुशी लाग्थ्यो क्रिकेट खेलेर । तर कलैयाबाट सुरु भएको मेरो क्रिकेट यात्रा विश्वकपसम्म पुगेको छ । धेरै खुशी छु, धेरै कुरा सिकेको छु ।

पाँच वर्षपछि राष्ट्रिय टोलीमा फर्किएलगत्तै विश्वकपको अवसर प्राप्त गर्नुभयो । त्यो पाँच वर्ष कसरी बित्यो ?

त्यो समय मेरो लागि निकै गाह्रो भयो । मैले क्रिकेट खेलेर नेपाल प्रहरीबाट खेल्ने अवसर पनि पाएको थिए । केही समयपछि त्यहाँ पनि छोड्नुपर्यो । तर पनि म निराश भईन । मलाई एउटा विश्वास के थियो भने मैले कलैया फर्किएर पनि राम्रोसंग क्रिकेट खेल्न सके भने फेरी अवसर पाइन्छ भन्ने थाहा थियो । परिवारबाट पनि साथ पाएको थिए । राष्ट्रिय टोलीमा फर्किन धेरै नै मेहनत गर्नुपर्छ भन्ने थाहा थियो । त्यसैअनुसार निकै मेहनत गरे । प्रधानमन्त्री कप मेरो लागि ‘टर्निङ पोइन्ट’ बन्यो । प्रधानमन्त्री कपमा हाई स्कोरर बने । त्यही खेलपछि राष्ट्रिय टिममा फर्कने अवसर पाए । त्यसलगत्तै क्यानडाविरुद्धको प्रदर्शनले थप सहयोग पुग्यो । मैले ४–५ वर्ष मेहनत गरेको थिए, त्यो मेहनत मलाई यहाँसम्म ल्यायो ।

आफ्नो प्रदर्शनलाई कसरी लिनुभएको छ ?

टिमको अगाडीको ब्याट्सम्यान भएपछि रन बनाउनुपर्ने जिम्मेवारी हुन्छ । दर्शकको पनि अपेक्षा हुन्छ । सोचेअनुसार रन बनाउन नसक्दा चुके भन्ने लाग्छ तर प्रयास भने नगरेको होईन । टेष्ट राष्ट्रहरुसंग खेल्दा अनुभवको कमी महसुस भयो । सर्टस् सेलेक्सन गलत हुन पुग्यो । टिमका हिसाबले भन्नुभन्दा पर्दा हामीले सबै खेलमा राम्रो प्रतिस्पर्धा गरेका छौं । अझै राम्रो गर्न सकेको भए नतिजा फरक हुन सक्थ्यो ।

साउथ अफ्रिकासंग १ रनको पराजय र गुल्शन झालाई लिएर निकै टिकाटिप्पणी पनि भयो । खेललगत्तै ड्रेसिङ रुम र टिमभित्रको माहोल कस्तो थियो ?

ड्रेसिङ रुममा समग्र खेलको विषयमा कुरा भयो । अन्तिम ओभर र गुल्सन झाको विषयमा कुरा भएन । त्यो खेल अन्तिम ओभरसम्म पुग्ने खेल नै थिएन । हाम्रै कमजोरीले त्यहाँसम्म खेल पुग्यो । त्यही भएर गुल्शनलाई लिएर कसैले कुरा गरेनन् । गुल्शनलाई दोष दिने ठाउँ छैन, उसको गल्ती पनि होईन । गुल्शनको पालो आउने खेल नै थिएन । अगाडीकै ब्याटरले खेल सक्काउनुपर्ने थियो । पिच यस्तो थियो कि भर्खरै गएको ब्याटरलाई रन बनाउन निकै गाह्रो थियो । फिल्डिङमा पनि हाम्रो केही कमजोरी भयो । हामीले पाएको लक्ष्य भन्दा अझै केही कम हुनसक्थ्यो ।

विश्वकप क्रिकेट खेलेको फर्किएको नेपाली टोलीको उत्साह कस्तो छ ? अनुभव कस्तो छ ?

उत्साहित छौं । धेरै कुरा सिक्न पाएका छौं । टेष्ट राष्ट्र र एशोसिएट राष्ट्रबीच खेल्ने तरिकामा भिन्नता भन्दा पनि अनुभव हुनुपर्ने रहेछ भन्ने बुझ्न पाएका छौं । हामीले पनि राम्रो क्रिकेट खेलेर फर्कियौं । नतिजा मात्रै हाम्रो पक्षमा आएन तर कुनै खेल पनि एकतर्फी हुन दिएनौ । टेष्ट राष्ट्रसंग खेल्ने अनुभव मात्रै हामीसंग कमी थियो । यो विश्वकपले हाम्रो आत्मविश्वास बढाएको छ । यो भ्रमण देश र टिमका लागि निकै उपलब्धीमुलक रहयो ।

भनेपछि एक्पोजरको कमी हो ?

पक्कै पनि एक्पोजरको कमी हो । टेष्ट राष्ट्रबीच खेल भईरहेको हुन्छ । ती राष्ट्रका प्राय सबै खेलाडी विश्वका थुप्रै लिगहरु खेलिरहेका हुन्छन् । उनिहरुले ब्याटिङ, बलिङ, फिल्डिङ, पिच, मैदान सबैको बोरमा अनुभव लिएका हुन्छन् । तर हामीले त्यसरी खेलेका छैनौं । हाम्रो धेरै खेल देश बाहिर हुँदैन । ठुला राष्ट्रसंग हामीले प्रतिस्पर्धा धेरै गरेका हुँदैनौ । त्यसैले पनि हामीमा अनुभवको कमी हो । हामीले त्यसरी एक्पोजर पायौ भने अझै राम्रो गर्न सक्छौ । हामीले होम सिरिजसंगै अवे सिरिजहरु पनि खेल्न पायौ भने पनि राम्रो हुन्छ । त्यसका लागि नेपाली क्रिकेट बोर्डले आफ्नो किसिमले तयारी गर्छ होला । हामी आफ्नो बेस्ट दिन तयार छौं ।

विश्वकपबाट फर्किएपछि घरपरिवारका सदस्य, जिल्लाका खेलाडी साथीहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

सबै जना खुशी हुनुहुन्छ । सबैले साउथ अफ्रिकाविरुद्ध टिकेर खेल्नुपर्ने, किन हतार गरेर त्यो प्रहार गरेको भनेर भन्नुभयो । गुल्शन झाको कुरा गर्नुभएन तर मेरो त्यो प्रहारको विषयमा कुरा गर्नुभयो । सम्हालिएर खेल्नुपर्ने सुझाव पाए । परिवार र साथीहरुबाट निकै साथ पाएको छु । जिल्लाबाटै विश्वकप खेल्ने खेलाडीको रुपमा उभिन पाउँदा खुशी छु । यो सफलताले परिवार र जिल्लाका क्रिकेट खेलाडी साथीहरु पनि खुशी छन् ।

विश्वकप खेल्ने खेलाडीको रुपमा उभिदै गर्दा कलैयाको क्रिकेटको विषयमा के सोच्नुभएको छ ?

अहिले त खेलाडी छु । अझै धेरै मेहनत गर्नुपर्नेछ । तर राष्ट्रिय टोली र विश्वकपको अनुभव सुनाएर युवा खेलाडीलाई क्रिकेटमा अझै राम्रो गर्नुपर्छ भनेर प्रेरित गर्न सक्छु । आफ्नो यात्रा सुरु भएको कलैयाको क्रिकेटलाई अघि बढाउन यसअघि पनि धेरै प्रयास गरेको छु । अझै पनि गर्छु । मेरो विश्वकपको यात्राले नयाँ खेलाडीलाई अझै उर्जा प्राप्त हुन्छ भन्नेमा विश्वस्त छु । आफूले सिकेका कुरा सिकाउने, मेहनत गर्न लगाउने, खेलस्तर बढाउन हौसला प्रदान गर्ने काम गर्यो भने पनि धेरै हुन्छ । कलैयाले धेरै खेलाडी उत्पादन गर्न सक्छ भन्ने लाग्छ ।

तपाईंको क्रिकेटको यात्रा कसरी सुरु भयो । कलैयादेखि विश्वकपसम्मको यात्रा कस्तो रहयो ?

म कक्षा ८ मा पढ्दा अन्तर विद्यालय क्रिकेटको क्रेज धेरै थियो । कक्षा ९ र १० का विद्यार्थीहरु क्रिकेट खेलेको हेर्दा धेरै राम्रो लाग्थ्यो । म पनि क्रिकेटमा निकै रमाउथे । पढ्न भन्दा बढी क्रिकेट खेल्न रहर लाग्थ्यो । मैले धेरै क्रिकेट खेल्यो भनेर अभिभावकले एसएलसीपछि हेटौंडा पठाईदिनुभयो । तर मैले हेटौंडामा पनि मैदान खोजेर क्रिकेट खेल्न थाले । क्रिकेट प्रतियोगिता खेल्न भारत पुगे । त्यसैकारण मेरो कक्षा १२ को परीक्षा समेत छुट्यो । तर मलाई क्रिकेट खेल्न पाएकाले परीक्षा छुटेको पिर थिएन । पछि अभिभावकले पनि क्रिकेटप्रतिको मोह बुझ्नुभयो र साथ दिनुभयो । अनि मैले अझै मेहनत गरेर क्रिकेट खेल्ने अवसर पाए ।

अन्त्यमा, अन्तर्राष्ट्रिय क्रिकेटमा मनपर्ने खेलाडी को हो ?

मलाई सबै भन्दा मनपर्ने खेलाडी महेन्द्रसिंह धोनी । जबदेखि मैले धोनीलाई मैदान पस्दै गरेको देखे । । त्यो दिन अझै मलाई क्रिकेट खेल्न हौसला प्राप्त भयो । धोनीको क्रिकेट खेल्ने शैली मलाई निकै मन पथ्र्यो । धोनी निकै लोकप्रिय खेलाडी भएकाले धोनीको जर्सी बजारमा किन्न पाइन्थ्यो । तर मैले जर्सी किन्ने पैसा अभिभावकबाट नपाएपछि सेन्डो गन्जीमा धोनीको नाम र जर्सी नम्बर लेखेर लगाएको अझै बिर्सन सक्दिन ।

प्रतिक्रिया दिनुहोस्