बाल यौन दुराचार मुद्धामा बम्जनलाई १० वर्ष कैद सजाय


eShilalekh

१७ असार २०८१, सोमबार १९:५०

सिमराः तपस्वी भनिएका बाराका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय र पाँच लाग क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

बाल यौन दुराचार मुद्धामा सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई उक्त सजाय तोकेका हुन् ।

अदालतका श्रेस्तेदार सदन अधिकारीका अनुसार बाल यौन दुराचार अभियोगमा बम्जनलाई १० वर्ष कैद सजाय र पीडित बालिकालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश आएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदावी गर्दै अदालतमा अभियोगपत्र दायर गरेको थियो । उक्त अभियोगमा असार १० गते दोषी ठहर गरेको अदालतले सजाय निर्धारणका लागि सोमबार पेशी तोकेको थियो ।

२०७६ देखि प्रहरीको खोजी सूचिमा रहेका बम्जन २०८० पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी सर्लाही ल्याइएका बम्जनलाई जिल्ला अदालतले २७ पुसमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सर्लाही आश्रममा रहँदा बाल यौन दुराचार गरेको आरोप लागेका बम्जनमाथि बारा जीतपुरसिमरा १८ का सुरेश आलेमगर, सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सञ्चमान बाइवालाई बेपत्ता पारेको आरोप समेत छ ।

प्रतिक्रिया दिनुहोस्