सिद्धार्थ बैंकमा भएको आगलागीबाट दुई करोड भन्दा बढी क्षतिको अनुमान


eShilalekh

१८ असार २०८१, मंगलवार १४:३१

सिमराः वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकमा सोमबार भएको आगलागीबाट दुई करोड भन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आदर्शनगरस्थित होटल सुरजसंगै टाँसिएको पाँच तल्ले भवनमा रहेको बैंकको शाखा कार्यालयमा सोमबार अपरान्ह ३ बजेदेखि लागेको आगो राति १० बजे मात्रै नियन्त्रणमा आएको थियो ।

आगो निभाउन बारा, पर्सा र भारत रक्सौलका गरी १० वटा वारुण यन्त्रको मद्यतमा नेपाल प्रहरी ,सशस्त्र प्रहरीका साथै स्थानीयबासी खटिएका थिए । बैंकको स्टोर रुमबाट विद्युत सर्ट भएर सल्किएको आगो भुंई तल्ला बाहेक चार वटै तल्लामा फैलिएको थियो ।

आगलागीबाट करिब दुई करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । आगलागीबाट फर्निचर,कागजपत्र, कम्प्युटर लगायतका उपकरण सबै जलेर नष्ट भएका छन् भने नगद र कागजात सुरक्षित निकालिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भईरहेको र अहिलेसम्मको अनुमानमा दुई करोड भन्दा बढी नै क्षति भएको अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्