७७ वटै जिल्लाका सीडीओलाई कार्यक्षेत्र नछाड्न गृह मन्त्रालयको निर्देशन


eShilalekh

२१ असार २०८१, शुक्रबार १६:२०

सिमराः गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई मनसुन अवधिभर आफ्नो जिल्ला नछाड्न निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन गृहसचिव एकनारायण अर्यालले निर्देशन दिए।

विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्वपूर्ण रहने भएकाले प्रमुख जिल्ला अधिकारीहरूले पालिकासँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले बताए । प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरूलाई परिचालनका निम्ति समन्वय गर्न, सडक खुलाउने उपकरण तथा कर्मचारीहरुको व्यवस्थापन गर्न, तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका स्रोत साधन चुस्त दुरुस्त राख्न र विपदबाट पीडित परिवारसम्म पुग्न पनि गृहसचिव अर्यालले निर्देशन दिएका छन् ।

जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएमा मन्त्रालयसँग समन्वय गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्