बारा,पर्सासहित नेपालमा उत्पादित चार ब्राण्डका तेल खान अयोग्य


eShilalekh

२१ असार २०८१, शुक्रबार १७:०४

सिमराः नेपालमा उत्पादन हुने १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डका तेलहरु खान अयोग्य भेटिएका छन् । काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा तेलमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएर खान अयोग्य पाइएको हो ।

बाराको जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगले २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

वीरगन्जको परवानीपुरमा रहेको अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालिले २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन तेलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो ।

यसैगरी मोरङ्कको श्रीराम रिफाइन्ड आयल प्रोडक्टले २०८० पुस २७ गते उत्पादन गरेको पक्वान व्राण्डको व्याच/लट नं. एस–२ को रिफाइन सोयाविन आयलमा मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान बढी भएको पाईएको हो ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो ।

यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो । मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्