आज राती ११ बजेदेखि नेपाल टेलिकमको सेवा केही समय प्रभावित हुन सक्ने


eShilalekh

२५ असार २०८१, मंगलवार १४:२७

सिमराः नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद सेवा केही समयका लागि प्रभावित हुने भएको छ। नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएकोले सेवाहरुमा समस्या आउनसक्ने जानकारी दिएको छ।

टेलिकमले मंगलबार जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधीखोजी सेवा प्रभावित हुन सक्ने उल्लेख गरेको छ। मोबाइल भ्वाइस, डेटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डेटा, आइपीटिभी लगायतका सेवामा भने कुनै असर नपर्ने टेलिकमले जनाएको छ ।

त्यसैले उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । पछिल्लो पटक बिलिङ प्रणालीकै कारण टेलिकमको सेवा असार १० गते १५ मिनेटसम्म अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्