बाराको पसाहामा बस दुर्घटना, एक महिलाको अवस्था गम्भिर
सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने पसाहा पुलनजिक बस दुर्घटना भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।
मलङगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । भारी बर्षा भईरहेको समयमा पुर्ब पश्चिम लोकमार्गमा तिब्रगतिमा बसले ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर तर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।
उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छिन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् । उनको छातीमा चोट लागेको हुदाँ उनलाई थप उपचारकोलागी ब्योधा अस्पताल रिफर गरिएको छ । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अवस्था मध्यम हुनेमा बाराको निजगढ नगरपालिका ९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० बर्षकी लक्षमी घिसिङ रहेका छन ।
यस्तै सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबाबु दास, सोही स्थानका २४ वर्षीय कैलास यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेश कुमार यादव र बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बसमा २५/२६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । सिमराको विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेकाले उनको खोजी कार्य भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।