आँप टिपेको विषयमा विवाद हुँदा एक युवकको हत्या, दुईजना पक्राउ


eShilalekh

२७ असार २०८१, बिहीबार १४:५२

सिमराः रौतहटकोे इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या भएको छ । इशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका–१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ–३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशही साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

डिएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशहीले पछाडिबाट अनुहार र टाउकोमा रड प्रहार गरेको र उनी भुइँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको एक दिनअघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशही साहलाई दुई–चार थप्पड हानेका थिए ।

सोही घटनाको बदला लिन दशहीले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

आरोपी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्