पाण्डेलाई धम्की दिएको घटनाको पत्रकारसम्बद्ध संघसंगठनद्धारा विरोध
सिमराः नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य एवम् शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई फोनमार्फत धम्की दिइएको घटनाको पत्रकार सम्बद्ध संघसंगठनले विरोध गरेका छन् ।
पाण्डेलाई धम्की दिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालले बिहीवार विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।
पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर आफूलाई धर्मेन्द्र यादव बताउने एक व्यक्तिले पाण्डेलाई फोन गरेर धम्की दिएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा ती व्यक्तिले पाण्डेलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।
संचारमाध्यममा प्रकाशित समाचारमा चित्त नबुझे वा गुनासो भएमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै पनि फोनमार्फत धम्की दिन नहुने पत्रकार सम्बद्ध संघसंगठनको भनाई छ । पाण्डेलाई धम्क्याउने व्यक्तिविरुद्ध छानविन गरी कारवाही गर्न ती संगठनले माग गरेका छन् ।
महासंघबाट अध्यक्ष रेशम तिवारी, चौतारीबाट सचिव जिउतप्रसाद यादव र सेन्टरबाट अध्यक्ष रन्जन यादवले विज्ञप्ति जारी गरेका हुन् ।