‘पहिरोले बगायो खुशी’
सिमराः नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएको एन्जल ट्राभलमा बारा र पर्साका १४ जना यात्रु सवार रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार बागमती प्र.०३००६ख १५१६ नम्बरको बसमा सवार रहेका २४ यात्रुमध्ये पर्साका १० र बाराका चार जना रहेका छन् । बसमा सवार सात भारतीय यात्रुसहित ९ जनाको पहिचान खुल्न बाँकी छ ।
बस त्रिशुली नदीमा बेपत्ता हुँदा त्यसमा सवार अवस्था अझै अज्ञात छ । बसमा सवार २४ मध्ये पर्साको सखुवा प्रसौनी गाउँपालिकाका चार, वीरगन्ज महानगरपालिकाका दुई, पर्सागढी नगरपालिकाका दुई, बहुदरमाई नगरपालिकाका दुई, बारा प्रसौनी गाउँपालिकाका दुई, कलैया उपमहानगरपालिकाका एक, बिश्रामपुर गाउँपालिकाका एक र हेटौडा उपमहानगरपालिकाका एक गरी १५ यात्रुको पहिचान खुलेको छ ।
बसमा पर्साको सखुवा प्रसौनी गाउँपालिका २ जमुनियाका एकै घरमा तीन जना सवार रहेका थिए । प्रर्साका प्रहरी प्रवक्ता केशरकुमार न्यौपानेका अनुसार जमुनियाका हृदयनारायण राउत, उनकी पत्नी भगैती देवी र छोरी चन्द्रप्रभा कारी रहेका छन् । हृदयनारायण उपचारका लागि काठमाडौं जादै गरेको परिवारले जानकारी दिएको छ ।
यसैगरी पर्सागढी नगरपालिका ७ का सलिम मिया र उनकी पत्नी जयन्त खातुन बसमा सवार थिए । यस्तै बाराको प्रसौनी गाउँपालिका २ का ताराचन्द्र कुर्मी र उनकी पत्नी कुसुम देवी बसमा सवार रहेको प्रहरीले जनाएको छ ।
उक्त बसमा सखुवा प्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत दुई जना कर्मचारी सवार थिए । बारा कलैया उपमहानगरपालिका १४ की सृष्टीकुमारी यादव र सखुवा प्रसौनी गाउँपालिका ३ पूर्वी कटैयाका रैफुल आलम मन्सुरी रहेका छन् । यादव रेडियो ग्राफर र मन्सुरी ल्याब असिस्टेन्ट थिए ।
परिवार स्रोतका अनुसार यादव रेडियोलोजिस्टको परीक्षाका लागि र मन्सुरी जापान जाने प्रक्रियाका लागि काठमाडौं जाँदै थिए । सखुवा प्रसौनी गाउँपालिकाका दुई कर्मचारी र तीन स्थानीय व्यक्ति नदीमा बेपत्ता भएको खबर पाएपछि गाउँपालिकाका अध्यक्ष जशवन्त यादव सिमलताल पुगेका थिए ।
यस्तै घटनामा बस चालक वीरगन्ज महानगरपालिका १२ का जवाहिर महतो, वीरगन्ज १६ नगवाका हरिन्द्र पण्डित, बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित, बसका सहचालक हेटौडा उपमहानगरपालिका १२ पदम पोखरीका माईला लामिछाने केसी बेपत्ता भएका छन् । केसी बस धनी राजकुमार लामिछानेको भाइ हुन् ।
यसैगरी अरविन्द दुवे नाम गरेका एक व्यक्तिको ठेगाना खुल्न नसकेको प्रवक्ता न्यौपानेले जानकारी दिए । न्यौपानेले बसमा सवार सात भारतीय र बसका सहयोगीको पूर्णरुपमा पहिचान खुल्न बाँकी रहेको बताए ।
घटनाको खबर सुनेलगत्तै बसमा सवार यात्रुका परिवार सिमलताल पुगेका छन् । तर साँझसम्म पनि बेपत्ता भएको बस र यात्रुको अवस्था पत्ता लाग्न नसक्दा उनिहरु भावविहल छन् । पहिरोले थुप्रै परिवारको खुशी बेपत्ता बनाएको बताउँदै पण्डितले अझै पनि सकुशल भेटिने आशामा आफूहरु रहेको बताए ।