वडाध्यक्षको तोडफोडपछि उपमहानगरको कामकाज अन्यौलमा
सिमराः योजना सम्झौताको विषयलाई लिएर वडाध्यक्षनै तोडफोडमा उत्रिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको कामकाज अन्यौल बनेको छ । वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिनै तोडफोडमा उत्रिएपछि कर्मचारीहरु कार्यालयमा पुगेर काम गर्ने मनस्थितीमा छैनन् ।
कर्मचारी कार्यालयमा नआए नियमित कामकाज प्रभावित हुनेछ । उपमहानगरपालिकाको कार्यालयमा विहिवार भएको घटनापछि अधिकांश कर्मचारी त्रसिद देखिएका छन् । उनिहरुले स्थिती सामान्य नभएसम्म काममा फर्कनुको औचित्य नरहेको बताउन थालेका छन् ।
‘वडाध्यक्षबाट भएको घटनाले कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण देखिदैन्’ कार्यालयका एक कर्मचारीले भने ‘जनप्रतिनिधिबाटै भएको यो घटना सामान्य होईन्, यसलाई गम्भिरताका साथ लिएका छौं ।’ कार्यालयमा काम गर्ने सुरक्षित वातावरण नबनेसम्म आफूहरुको उपस्थिती नरहने ति कर्मचारीले बताए ।
कार्यसम्पादनका क्रममा आउने समस्यालाई संवाद र छलफलको माध्यमबाट समाधान गर्न सकिने भएपनि तोडफोडमा उत्रनु र सरकारी सम्पतीमाथी क्षति पुर्याउनु गैरजिम्मेवारीपूर्ण कार्य भएको कर्मचारीको भनाई छ । जनप्रतिनिधिबाटै कार्यालय र कर्मचारी सुरक्षित नहुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय भएको कर्मचारीहरु बताउछन् ।
वडाको योजनाको सम्झौता गर्न कर्मचारीले ढिलाई र आनाकानी गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नवराज खड्काले उपमहानगरपालिकामा तोडफोड गरेका थिए । खड्काले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
खड्काको तोडफोडबाट कम्प्युटर, प्रिन्टर, फर्निचरमा क्षति पुगेको छ । योजना सम्झौताको विषयमा छलफल छलिरहेकै बेला खड्का आक्रोशित हुदै तोडफोड गरेका थिए । कार्यालयमा तोडफोड गरेर खड्का पुनः छलफलमा बसेका थिए । घटनापछि प्रहरीले क्षतिको विवरण संकलन गरेको छ ।
के हो घटना ?
उपमहानगरपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०७८।०७९ का लागि चालु र पुँजीगततर्फ गरी दुई अर्व ३८ करोड ६३ लाख अनुमानित बजेट नगरसभाबाट पारित भएको थियो ।
चालु आर्थिक बर्षमा आन्तरिक स्रोतबाहेक संघीय सरकारबाट ७५ करोड ९९ लाख, प्रदेश सरकारबाट तीन करोड ५७ लाख र राजश्व बाँडफाँडबाट ३६ करोड ३८ लाख गरी करिब एक अर्ब १६ करोड उपमहानगरपालिकाले प्राप्त गर्ने बजेट हो । यसबाहेक चालु आर्थिक वर्षमा आन्तरिक स्रोतमा अनुमानित एक अर्व २२ करोड राखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा आन्तरिक स्रोत २० करोड मात्रै राखिएको थियो । कोरोनाका कारण उक्त आन्तरिक स्रोतको लक्ष्य समेत भेटाउन नसकेको उपमहानगरपालिकाले यस वर्ष आन्तरिक स्रोत बढी राखेको हो ।
स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिको अन्तिम कार्यकालका रुपमा रहेको यो आर्थिक वर्षमा वडाका लागि विनियोजित बजेट पनि अघिल्लो वर्षमा भन्दा बढी छ । वडामा निर्वाचित जनप्रतिनिधिले अघिल्ला वर्षमा भन्दा झण्डै दोब्बर बजेट माग गरेपछि आन्तरिक स्रोत बढी राखेर नगरसभा सम्पन्न गरिएको थियो । बजेटकै विषयलाई लिएर नगरसभा समेत समयमै हुन सकेको थिएन् ।
उपमहानगरपालिकाको व्ययभार भन्दा बढी बजेट बनेपछि योजना सम्झौताको विषय चुनौतीपूर्ण बन्दै गएको थियो । उपमहानगरपालिकाको २४ वटा वडाका लागि भुगोल र जनसंख्याका आधारमा करिब ६० करोड बजेट विनियोजन गरिएपनि बजेटको अवस्था हेरेर सम्झौता हुँदै आएको थियो ।
तर वडाध्यक्षले विनियोजित सबै बजेटको सम्झौता रोकिन नहुने र उपमहानगरपालिकाको कार्यालयले विनियोजित बजेटमध्ये आर्थिक अवस्था हेरेर मात्रै सम्झौता गर्न सकिने बताएपछि समस्या उत्पन्न भएको हो । कार्यालयले वडामा विनियोजित बजेटमध्ये ५० प्रतिशत भन्दा बढीको सम्झौता गरिसकेको छ ।
सरकारले चुनावको मिति घोषणा गरेपछि बजेट कार्यान्यवनमा समस्या आउन सक्ने भन्दै वडाध्यक्षले सबै बजेटको सम्झौता तत्काल हुनुपर्ने माग राख्दै आएका थिए । तर बजेटको व्यवस्था नभएसम्म सम्झौता गर्न सक्ने अवस्थामा नरहेको कार्यालयले बजेटको अवस्था हेरेर क्रमशः सम्झौता गर्दै जाने बताउदै आएको थियो ।
योजना सम्झौताको विषयलाई लिएर केही समयदेखी वडाध्यक्ष र कार्यालयबीच असमझदारी बढ्दै गएको थियो । वडाअध्यक्षहरुले नगरस्तरीय बजेटको सम्झौता रोकेर भएपनि वडाको सम्झौता गरिनुपर्ने माग राखेका थिए । सोही विषयलाई टुंग्याउन विहिवार नगर प्रमुख डा. कृष्ण पौडेलको कार्यकक्षमा वडाध्यक्ष र दलिय प्रतिनिधिको उपस्थितीमा छलफल भईरहेको थियो । छलफलमा नेपाली कांग्रेसका छविलाल शर्मा, नेकपा माओवादी केन्द्रका प्रेम बराल, एकिकृत समाजवादीका कृष्ण खनाललगायत सहभागी थिए ।
छलफल चलिरहेका बेला वडाध्यक्ष खड्काले कार्यालयमा तोडफोड सुरु गरेका हुन् । उनले आफ्नो वडाको योजना सम्झौता गर्न पटकपटक ताकेता गर्दा पनि वेवास्था गरिएपछि तोडफोड गरेको प्रतिक्रिया दिएका छन् । ‘आफ्नो वडाको लागि विनियोजन गरिएको बजेटको सम्झौता नगरेपछि तोडफोड गरेको हुँ’ खड्काले प्रतिक्रिया दिए । उक्त घटनाको केही समयपछि कार्यपालिका सदस्य श्यामसुन्दर पासवानले पनि एउटा कुर्सी भाचेका थिए ।
खड्काको वडामा आर्थिक वर्ष ०७८।७९ का लागि दुई करोड ७० लाख बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये एक करोड १० लाखको सम्झौता भईसकेको छ । सम्झौता गरिएको बाहेक थप १० लाखको खानेपानी धारा निर्माणका लागि वडाध्यक्ष खड्काले उपभोेक्ता समिति गठन गरी सम्झौता गर्न कार्यालय पठाएका थिए ।
सम्झौताका लागि कार्यलय पुगेका उपभोक्ता समितिको पत्रमा प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले आर्थिक प्रशासन शाखासंग बजेटको व्यवस्था रहेनरहेको बुझेर प्रक्रिया अघि बढाउन योजना शाखालाई सम्बोधन गर्दै तोक लगाएका थिए । योजना शाखाले आर्थिक प्रशासन शाखासंग राय लिदा तत्काल सम्झौताका लागि बजेटको व्यवस्था नरहेको बताएपछि आक्रोशित खड्काले बुधवार साझनै प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखलाई फोन गरेर कार्यालयमा तोडफोड गर्ने धम्की दिएका थिए ।
‘हामीले बजेटको अवस्था हेरेर सबै वडाको योजना क्रमशः सम्झौता गर्दै आएका थियौ । बजेट नभएसम्म सम्झौता गर्ने अवस्था रहदैन्’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने ‘उहाँलाई मात्र होईन सबै वडाध्यक्षलाई त्यही भनेका छौं । तर उहाँ बढी आक्रोशित हुनुभयो र कार्यालयमा क्षति पुर्याउनुभयो।’
तोडफोड घटनाको चौतर्फी आलोचना
वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सरकारी सम्पती तोडफोड गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ । समस्या समाधानको अन्य विकल्प हुँदाहुँदै तोडफोडमा उत्रनु गलत भएको प्रतिक्रिया आउन थालेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भोजबहादुर खत्रीले कार्यालयमा तोडफोडको विषय आपत्तीजनक रहेको बताए । उनले कार्यपालिका बैठकभित्र छलफल गरेर टुंग्याउनुपर्ने भएपनि वडाध्यक्षको गरिमा बिर्सेर तोडफोड गर्नु गलत रहेको बताए ।
वडाध्यक्ष खत्रीले तत्काल कार्यपालिका बैठक राखेर यस विषयमा छलफल हुनुपर्ने बताए । वडा नं. १६ का वडाध्यक्ष केदारनाथ बजगाईले पनि वडाध्यक्ष जनताले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिले कार्यालय तोडफोड गर्नु अत्यन्तै दुःखद् रहेको बताए ।
यस्तै वडा नं. ११ का अध्यक्ष विनोद यादवले जिम्मेवार व्यक्तिबाटै तोडफोड हुनु अत्यन्तै निन्दनिय विषय रहेको बताएका छन् । उनले यस्तो घटनाले जनप्रतिनिधिप्रति आमजनताको धारणा नकारात्मक हुने बताए ।
वडा नं. ७ का अध्यक्ष रामबाबु गुप्ताले सार्वजनिक सम्पती तोडफोड गर्ने कार्य उचित नभएको प्रतिक्रिया दिएका छन् । काम गर्ने क्रममा समस्या आए त्यसलाई छलफलबाट टुंग्याउनुपर्ने भएपनि कार्यलयमा तोडफोड गर्ने कार्य दुःखद् रहेको गुप्ताको भनाई छ । घटनाको विषयलाई लिएर सामाजिक संजालमा समेत चौतर्फी आलोचना भईरहेको छ ।