एनआरएनए अमेरिकाको १३औं साधारणसभा तथा ज्ञान सम्मेलन सम्पन्न


eShilalekh

३ श्रावण २०८१, बिहीबार ०९:३९

रामप्रसाद अधिकारी

अमेरिकाः गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको १३औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मेलन सम्पन्न भएको छ । मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा साधारणसभा तथा ज्ञान सम्मेलन सम्पन्न भएको हो ।

एनआरए एनसीसीका अध्यक्ष डा. अर्जुन बन्जाडेको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रवासी नेपालीहरुलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली नागरिकताको विषयलाई प्राथमिकताका साथ उठान गर्दै गहन छलफल भएको उपाध्यक्ष भानु खरेलले जानकारी दिए । कार्यक्रममा एनआरएन एनसीसी टेड्र एण्ड टुरिजमका संयोजक सबिन्द्र थापाले उपसमित गठन भएदेखि हालसम्म गरेका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

एनआरएनएले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएकोमा नेपाल सरकारद्वारा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नु एक हदसम्म अभियानको उपलब्धि भएको साधारणसभाले ठहर गरेको छ । यस उपलब्धिका लागि अभियानमा लाग्ने र मागलाई सम्बोधन गर्ने नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै साधारण सभाले यसको व्यावहारिक पक्षप्रति भने असन्तुष्टिसहित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।

साधारण सभाले प्रवासी नेपालीहरुलाई नेपाल सरकारले गैरआवासीय नेपाली नागरिता लिन ढोका खुला गरेपनि यसको कार्यान्वयन पक्ष निकै निष्क्रिय, जटिल, झन्जटिलो र अस्पष्ट रहेको निष्कर्ष निकाल्दै यसको व्यावहारिक पक्षको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार अपील गरेको छ ।

अध्यक्ष डा. बन्जाडेले संस्थाको नाममा गैर भन्ने शब्द रहेकाले कतिपय अवस्थामा अनर्थ लाग्ने गरेको जिकिर गर्दै नाममा पुनर्विचार गर्नुपर्ने भनी गराएको ध्यानाकर्षणलाई साधारण सभाले संकल्प प्रस्तावमा समेटेको छ । त्यसैगरी, साधारण सभाले लामो समयदेखि संस्थाले व्यहोर्दै आएको विवादित दोहोरो करको अवस्थालाई समयमै सम्बोधन गरेर नेपाल र अमेरिकाबीचको सुमधुर सम्बन्धलाई थप कसिलो र आत्मीय बनाउनुपर्नेमा जोड दिइएको छ ।

साधारण सभाको दोस्रो दिनको बन्द सत्रमा विधान संशोधनका लागि मेम्बरसिप ड्राइभको विषयले प्राथमिकता पाएको भएतापनि आइसिसिको वर्तमान अन्योलताको कारण सोचेअनुरुप व्यवहारमा जान जटिल हुने ठहर गर्दै यथोचित प्रष्ट निर्णय गर्न नसकेको बताइएको छ । तर बन्दसत्रले दिएको सुझाव अनुसार विधानमा भएका भाषागत कमी कमजोरीहरुलाई सुधार गर्ने निर्णय भने गरिएको छ ।

यसैगरी, बन्द सत्रले बासु फुलराको संयोजकत्वमा रहेको वर्तमान निर्वाचन समितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ भने सतेन्द्र शाहको संयोजकत्वमा जीतेन्द्र ढकाल र सन्तोष तिमल्सिना सदस्य रहने गरी लेखा समिति गठन गरेको छ । युवा पुस्तालाई संस्थाप्रति आकर्षित गर्ने, संगठित गर्ने र समुदायको हितका लागि युवा जनशक्तिलाई परिचालित गर्ने मुख्य उद्देश्यले संस्थाको विधानमा नै व्यवस्था गरेर वार्षिकरुपमा नै युवा सम्मेलन तथा युवा केन्द्रीत क्रियाकलापहरु गर्ने निर्णयसमेत गरेको छ ।

साधारण सभाले एनआरएनए, अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीच स्थापित सम्बन्धलाई निरन्तरता दिँदै थप मजबुत बनाउन भविष्यमा पनि आवश्यक सहकार्यहरु गर्दै जान निर्देश गरेको छ । यसैगरी, साधारण सभाले नेपालमा हालै गएको बाढीपहिरोका कारण धेरैको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बन्दसत्रले महासचिव रामहरी अधिकारीको संस्थागत प्रविवेदन र कोषाध्यक्ष सरोज सिग्देलको आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको टेक्सास च्यापटरका अध्यक्ष दीपेन्द्र गुरागाईले जानकारी दिए ।

यसैगरी साधारणसभासंगै आयोजित ज्ञान सम्मेलनमा प्राकृतिक तथा व्यावहारिक विज्ञान, स्वास्थ्य विज्ञान र सामाजिक विज्ञान तथा उद्यमशीलता गरी तीन क्षेत्रलाई प्राथमिकता दिएर आठ जना विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गरेका थिए । साधारण सभालाई सांगीतिक क्रियाकलापहरुमार्फत नेपाल र नेपालीसंग जोड्दै मनोरञ्जनात्मक बनाउन कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

साधारण सभाले महत्वपूर्ण निर्णयहरु गर्दै आगामी दिनहरुका लागि अमूल्य मार्ग निर्देश गरेको अध्यक्ष बन्जाडेले बताए । उनले संस्थाको गरिमा बढाउने अभियानमा सबैको साथ सहयोगको अपेक्षा गर्दै आत्मीय एकता र सक्रियताका लागि सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्