दुर्घटनामा परेका सखुवा प्रसौनीका पाँचैजनाका परिवारलाई गाँउपालिकाले राहतस्वरूप १/१ लाख दिने


eShilalekh

३ श्रावण २०८१, बिहीबार १४:०५

सिमरा: चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरूप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन्।

गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसमा सखुवा प्रसौनी गाउँपालिकाका चार र महुवन स्वास्थ्य चौकीमा कार्यरत एकसहित पाँचजना परेकाले राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।

उनका अनुसार उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव भेटिएको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी-२ जमुनियाकी २४ वर्षीया प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधबार भेटिएको थियो ।

उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ। बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ। उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै थिए।

यस्तै, एञ्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसाैनी– ५ महुवनको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्यचौकीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्