सिमरामा स्पेलिङ बी प्रतियोगिता सम्पन्न, आयोजक विद्यालय प्रथम


eShilalekh

१२ श्रावण २०८१, शनिबार २१:१६

सिमराः बाराको सिमरामा स्पेलिङ बी प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित एकता स्कुलले विभिन्न ११ वटा विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरेको हो ।

सिमरास्थित श्रेष्ठ रेडिसेन्सीमा आयोजित प्रतियोगितामा आयोजक विद्यालय एकता प्रथम, अक्षरा पाठशाला द्धितीय र सिमरा पब्लिक इङ्लिस स्कुल तृतीय भएको छ । प्रतियोगितामा प्रत्येक विद्यालयबाट कक्षा पाँचमा अध्ययनरत दुई जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रथम, द्धितीय र तृतीय स्कुलका विद्यार्थीलाई राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनब्याब्सन) का केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, प्रदेश सदस्य बसन्त ढकाल, जिल्ला कोषाध्यक्ष मदन रिजाल, जीतपुरसिमरा अध्यक्ष अनिल तिवारीलगायतले पुरस्कृत गरेका थिए ।

पुरस्कारसहित अक्षरा पाठशालाका विद्यार्थी ।

एनब्याब्सनमा आवद्ध रहेका सिमरा र डुमरवाना क्षेत्रका १३ वटा विद्यालयले बनाएको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना गरिएको हो । ती विद्यालयले विद्यार्थीको ज्ञान र क्षमता अभिबृद्धिका लागि विभिन्न रचनात्मक क्रियाकलापको आयोजना गर्ने गरी वार्षिक तालिका बनाएका छन् ।

उक्त तालिका अनुसार एकताले स्पेलिङ बी प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगितामा विद्यार्थीले अंग्रेजी शब्दको संयोजन, चयन र उच्चारण शुद्धरुपमा गर्नुपर्ने हुन्छ । प्रतियोगितामा नागेन्द्र पण्डित र श्रीकृष्ण श्रेष्ठले निर्णायकको भूमिकामा सहजीकरण गरेका थिए ।

पुरस्कारसहित सिमरा पब्लिकका विद्यार्थी ।

एकता स्कुलका प्रिन्सिपल मदन रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकता स्कुलका शिक्षक दिवस न्यौपाने, सुशान्त चौधरी, मौसम कोईराला, उमेश ढकाल, बिजय मगरलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण साजन रेग्मीले गरेका थिए ।

प्रथम पुरस्कार ग्रहण गर्दै एकता स्कुलका विद्यार्थी र शिक्षक ।

प्रतिक्रिया दिनुहोस्