पेन्सन पाउन मधेसका आठ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य
सिमरा: सरकारले पेन्सन पाउनका लागि मधेस प्रदेशको सबै जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको निवृत्तभरण व्यवस्थापन कार्यालयले पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। यसका लागि आवश्यक व्यवस्था मिलाउन कार्यालयले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको छ।
पत्राचार अनुसार साउन १ गतेदेखि बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सहित २८ जिल्लाका सेवाग्राहीले पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो ।
गत असार १० गते राजपत्रमा प्रकाशित सूचनाअनुसार निवृत्तभरकहरुले सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र नम्बर सम्बन्धित बैंकमा बुझाउनुपर्ने उल्लेख छ ।
सोहीअनुसार निवृत्तभरण व्यवस्थापन कार्यालयले सम्बन्धित बैंकलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्र नम्बर पछिसम्म फरक नपर्ने गरी आईपीएमएसमा अध्यावधिक गराउन अनुरोध गरिएको छ । राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक नभएमा निवृत्तभरण रोक्का हुने समेत पत्रमा उल्लेख छ ।
यसअघि सरकारले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भनेको थियो । तर आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको थियो । अहिले पेन्सनमा परिचयपत्र अनिवार्य गर्ने निर्णयको पनि कतिपयले असन्तसष्टि जनाउँदै आएको छन् ।