वैदेशिक रोजगारी छोडेर नेपालमै स्वरोजगार


बिनिता खत्री

१९ श्रावण २०८१, शनिबार १६:४३

सिमराः वर्षौ देखि सिमरा चोकमा रहेको एउटा टहरामा दुई दाजुभाई र उनका बुवा खाजा नास्ताको व्यवसायमा व्यस्त छन् । ग्राहकको भिड्ले उनीहरुको व्यस्तता दिनहुँ बढ्दो छ । प्रायजसो दिउँसोको समयमा खाजा खान र लिन आउने संख्या धेरै हुन्छ । कहिले काँहि त खाजा दिन पनि उनिहरुलाई भ्याईनभ्याई नै हुन्छ ।

सस्तो मूल्यमै पेटभरी र मिठो खाजा खान पाईने भएपछि ग्राहकको भिड् लागेको बताउँछन् ३२ वर्षीय संचालक पवनकुमार क्षेत्री । उनि वैदेशिक रोजगारीबाट फर्केर आफ्नै बुबाले वर्षौदेखि सञ्चालन गर्दै आएको व्यवसायलाई निरन्तरता दिईरहेका छन् ।
उनको परिवारमा सात जना छन् । पवन पसलमा व्यस्त हुँदा परिवारका अन्य सदस्यले पनि सहयोग गर्छन् । पवनसंग पसलमा उनका भाई र बुवा बस्छन् । अहिले पसललाई मुख्यरुपमा चलाउने पवन हुन् ।

नेपाली आर्मी, सशस्त्र प्रहरीमा जागिर खान प्रयास गरेका पवन साउदी अरब, दुवई, कतारजस्ता देशमा वैदेशिक रोजगारीको अनुभवन लिएर फर्किएका छन् । वैदेशिक रोजगारीकै क्रममा नेपाल फर्किएर बुवाले गरेको खाजाको पसललाई निरन्तरता दिन थालेका उनलाई त्यसयता अन्य विकल्पको बारेमा सोच्नुपरेको छैन ।

‘१८ वर्षको उमेरमा नेपाल आर्मी र सशस्त्र प्रहरीमा जागिरका लागि प्रयास गरे । यसअघि वैदेशिक रोजगारीलाई विकल्प बनाएका थिए । ‘घरायसी समस्याले गर्दा लागेको ऋण तिर्न भनेर विदेश गए’ पुराना दिन सम्झिदै पवनले भने ‘तर पछि आफ्नै देशमा फर्किएर दुःख गरौं भन्ने लाग्यो । अनि नेपाल आएर बुवाले सुरु गरेको खाजा नास्ताको पसललाई अघि बढाए ।’
खाजा नास्ताको पसलबाटै आफ्नो परिवारको गुजारा राम्रोसंग चलाईरहेका पवन यसरी बताउँछन् आफ्नो संघर्षका कथा ।

पवनका अनुसार उनी तीन वटा देश गईसकेका छन् । सुरुमा पवन साउदी अरब गएका थिए । उनले अरब जाने बेला कुनै पनि सिप सिकेका थिएनन् । सामान्यतया लेखपढ गर्न जानेका पवनकुमार क्षेत्री हातमा सिप नहुँदा वैदेशिक रोजगारीको यात्रामा निकै कष्ट सहेको बताउँछन् । उनी अरबमा मजदुरी कामका लागी गएका थिए । उनले त्यहाँ सिमेन्ट बन्ने कारखानामा सिमेन्ट बोक्ने काम गर्थे । उनलाई त्यहाँको भाषाको बारेमा केहि जानकारी थिएन् । उनलाई त्यहाँको भाषा नआउँदा धरै समस्याहरु भोग्नुपरेको थियो ।

भाषाले गर्दा काम गर्न असहज भयो । भाषामा समस्या हुँदा पवनलाई सुरुसुरुमा काम गर्न निकै गाह्रो भएको थियो । पछि सिमेन्टको भारी बोक्ने काममा उनलाई स्वास्थ्यले साथ दिएन । काम गर्न नसक्ने अवस्थामा पुगेपछि पवनले कारखाना व्यवस्थापनलाई नेपाल फर्काइदिन अनुरोध गरे । तर उनलाई नेपाल नपठाई अर्को ठाउँको पेट्रोल पम्पमा काम लगाईयो । काम गर्ने क्रममा पवनले अरबी भाषा बुझ्न र बोल्न जाने । उनले अन्तै काम गर्ने अवसर पाए । पसलमा क्यासिएरको काम पाएपछि सहज भएको क्षेत्रीले बताए । क्यासिएरमा तीन वर्ष काम गरेर उनि नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनले यही बसेर केही गर्ने सोचे । तर उनले सोचे जस्तो काम गर्न सकेनन् । फेरी उनि विदेश नै जाने निधो गरे । त्यसपछि उनि दुबई हानिए । साउदीबाट फर्किएपछि नेपालमा जीवन सहज रुपले चलाउन नसक्ने देखेपछि उनी दुबई गए । वैदेशिक रोजगारीको सिपलाई नेपालमा प्रयोग गर्न सकेनन् ।

बुवाले गरेको व्यवसायमा पनि आफ्नो उज्वल भविष्य नदेखेपछि आफू निराश हुदै दोस्रो पटक वैदेशिक रोजगारीका लागि दुबई पुगेको उनले बताए । ‘अरबी भाषा पनि जानीसकेको थिए । दुईचार पैसा अलि बढि कमाउँछु कि भन्ने आशले दुबई गएको थिए । त्यहाँ होटलमा भाँडा उठाउने र माझ्ने काम गरे । घरमा पैसा थोरै पठाएको भन्छन् कि भनेर म ओभर टाईम काम गर्ने गर्थे ।’ पवनले करिब तीन वर्ष दुबईमा नै बिताए । उनको वैदेशिक रोजगारीको सिलसिला यतिमै टुंगिएको थिएन् । उनी दुवईबाट फर्किएर अर्को देश कतार गए । काम राम्रै पाए । पहिला पनि होटलमा काम गरेको अनुभवले कतारमा सहज भएको उनको अनुभव थियो । तर कतारमा केही समय काम गरेपछि अन्ततः उनले नेपाल फर्कने निधो गरे ।

‘जुनसुकै देशमा पनि कमाउनको लागी दुःख गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने अरु पनि कामदारहरुको अवस्था म जस्तै थियो । हातमा सिप नभएपछि निकै कष्ट सहनुपर्ने हुन्छ । विदेशमा सङ्घर्ष गरेको पनि धेरै वर्ष भईसकेको थियो’ पवनले पुरानो दिन सम्झिदै भने ‘दिनहँु घर परिवारको याद आउने गथ्र्यो । सानो उमेरमा नै घर परिवार छोडेर गएको थिए । काम गर्दा गर्दै दुःख र सङ्घर्ष गर्न सिकिसकेको थिए । १४ वर्ष वैदेशिक रोजगारीमा बिताईसकेको थिए । काम गर्दा दुःख संगै खुशी पनि भए । उतैबाट अब नेपालमै केहि गरेर देखाउँछु भन्ने सोचका साथ म नेपाल फर्किएको थिए । नेपाल फर्किएको त्यो दिन मेरो लागी एकदमै खुशीको दिन थियो । मैले वैदेशिक रोजगारीलाई त्यागीसकेको थिए ।’

नेपाल फर्किसकेछि के व्यवसाय गर्ने भन्ने सोचमा परे उनि । विदेशमा गरेको कामको अनुभव अनुसार काम गर्न सक्ने वातावरण थिएन । बुवाले गर्दै आएको खाजा नास्ताको पसललाई निरन्तरता दिनेबाहेक अर्को विकल्प थिएन । उनले त्यही कामलाई अघि बढाउने सोच बनाए । सानोदेखि त्यही काम हेर्दै र गर्दै आएको भएर होला सिपको नाममा त्यहि एउटा काममा उनको ध्यान गयो । बुवाले ठेलाबाट सुरु गरेको खाजा नास्ताको व्यवसायलाई भाईले निरन्तरता दिईरहेका थिए । त्यही पसलमा खाजाको परिकार थप्दै अघि बढाउन उनी मानसिकरुपमा तयार भए । ‘बुवाले गरिरहेको व्यवसायलाई नै अघि बढाउने भनेर सुरुमा मैले आफैमा निर्णय लिए, त्यसपछि मैले आफ्ना कुरा घरका अन्य सदस्यलाई राखे, त्यसमा सबैले सहमती जनाए’ उनले भने ‘त्यसपछि निरन्तररुपमा यसै व्यवसायमा सक्रिय छु । घरका सबै सदस्य खुशी छन् ।’

ठेलाको स्थानमा सानो टहरा बनाएर रोटी तरकारी, परोठा, पकौडाजस्ता विभिन्न थरिका तरकारी बनाएर खाजा नास्ता दिन थालेपछि उनको पसलमा दिनहुँ भिड् बढ्दै जान थाल्यो । विस्तारै सबैले चिन्न थाले । खाजा लिने र खाने संख्या पनि बढ्न थाल्यो । दिनहु पसलमा भिड हुन थाल्यो । सहि निर्णय गरेछु भन्ने उनलाई लाग्यो ।

बेलाबेलामा उनि वैदेशिक रोजगारीमा गरेको सङ्घर्ष सम्झिन्छन् । उनको आँखा रसाउँछ । वैदेशिक रोजगारीमा जस्तो धेरै पैसा एकैपटक व्यवसायबाट नकमाए पनि उता भन्दा यतै सन्तुष्ट रहेको उनि बताउछन् । परिवार पनि खुशी छन् । नास्ता पसलबाट भईरहेको आम्दानीले परिवारको गुजारा राम्रैसंग चलिरहेको बताउँदै पवनले आफू निकै सन्तुष्ट रहेको बताए ।

घरमै आफूले जानेको र आफूसंग भएको सिप प्रयोग गरेर आम्दानी गर्न सकेकोमा उनि खुशी छन् । विदेशमा सिप नहुने व्यक्तिले निकै दुःख पाउने गरेको उनको अनुभव छ । ‘मैले सिप सिकेर नजाँदा धेरै नै दुख पाए । सिप बिना विदेशमा कामदारहरुले धेरै नै कठिन र जोखिमपूर्ण अवस्थाको सामना गर्नुपरेको छ । तलब पनि धेरै हुँदैन’ पवनले भने ‘त्यसैले वैदेशिक रोजगारीमा जाँदा बुझेर मात्र जानुपर्छ । सिप सिकेर जाँदा राम्रो तलब सुविधा र सम्मान पनि पाईन्छ । काम गर्नलाई सजिलो हुन्छ ।’

वैदेशिक रोजगारीमा जस्तो दुख, कष्ट, सङ्घर्ष नेपालमा गर्न सकेमा नेपालमै स्वरोजगार बन्न सकिने बुझाई उनको छ । वैदिशक रोजगारीमा आकर्षण बढिरहेपनि विदेशमा गर्ने दुःख नेपालमै गर्न सकियो भने जिवन सहज हुने उनको विश्वास छ ।
‘वैदेशिक रोजगारीको लागी जाने नै हो भने कुनै न कुनै सिप सिकेर मात्र जानुपर्छ । सिप सिकेर जाँदा काम गर्न सहज हुने गर्छ । कतिपय व्यक्तिहरु पढाई भएर पनि हातमा कुनै सिप नहुँदा मजदुरीको काम गर्नु परिरहेको हुन्छ’ उनले भने ‘हामी वैदेशिक रोजगारीको लागी जानै पर्छ भन्ने छैन् । तर रोजगारीका लागि जानुभन्दा अगाडि हातमा सिप लिएर जानुपर्छ । म पढेको लेखेको व्यक्ति भएर नि कुनै सिप नहुँदा धेरै समस्या भोग्नु परेको थियो । हामीले नेपालमा नै काम गर्न सक्छौ । हामीलाई वैदेशिक रोजगारीमा नजादा पनि हुन्छ ।’

वैदेशिक रोजगारीमा गएका समयमा घर परिवारमा केही समस्या पर्दा आउन नपाईने, भनेको समयमा विदा नपाईने जस्ता समस्या रहेको बताउँदै पवनले नेपालमै दुःख गर्यौ भने आफ्नो घरपरिवार नजिक हुने परिवारलाई समस्या परेको खण्डमा सहयोग गर्न सकिने, आफूले समेत सहयोग पाउने अवस्था हुने बताए । आफू पनि वैदेशिक रोजगारीको अनुभव बटुलेर आएका कारण त्यहाँको अवस्था बारे जानकारी रहेको भन्दै पवनले नेपालमै बसेर स्वरोजगार हुनका लागि अनुरोध गर्छन् ।

प्रतिक्रिया दिनुहोस्