प्रतिज्ञाको डाक्टर बन्ने सपना


बिनिता खत्री

१९ श्रावण २०८१, शनिबार १६:५६

सिमराः भविष्यमा डाक्टर बन्ने सपना बुनेकी छिन् जीतपुसिमरा उपमहानगपालिका वडा नं. ४ की प्रतिज्ञा खतिवडा । उनी अहिले सिमरा पब्लिक इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् ।

बुवा सुरेश खतिवडा र आमा पुनम खतिवडाकी तीन सन्तान मध्ये उनी तेस्रो सन्तान हुन् । परिवारमा आमा, बुवा, दिदी, दाइ गरी ६ जना सदस्य छन् । उनको बुवा सिमरामा रहेको नन्दन घ्यू उद्योगमा काम गर्छन् । उनकी दिदी शिक्षिका र दाई हुलास स्टील्स् उद्योगमा कार्यरत छन् । उनको आमा वैदेशिक रोजगारीमा छिन् ।

पढाई लेखाईमा अब्बल उनी नृत्यमा निकै रुची भएको बताउँछिन् । विदाको समयमा साथीसंग खेल्ने, पढ्ने र घरायसी काममा दिदीको सहयोग गरेर बिताउने गर्छिन् । सानैदेखि अरुको काममा सहयोग गर्ने रुची उनको छ । अरुलाई गाह्रो र अफ्ठेरो महसुस भएको उनि देख्न सक्दिनन् । घरमा पनि कोही बिरामी हुँदा उनलाई असहज महशुस हुन्छ । त्यसैले पनि उनि डाक्टर बन्न चाहन्छिन् । डाक्टर बनेर उनि सबैको सेवा गर्ने उनको लक्ष्य छ । विद्यालयको राम्रो विद्यार्थी मध्ये एक हुन् प्रतिज्ञा । उनलाई विद्यालयमा पढाई लेखाईसंगै साथीसंग बसेर गृहकार्य गर्न र विभिन्न खेलहरु खेल्न मन लाग्छ । सबै बिषय सजिलो लाग्ने भएपनि उनलाई मन पर्ने विषय विज्ञान हो । उनलाई केही गाह्रो लाग्ने भनेको सामाजिक विषय हो । उनी सामाजिक विषयमा थप ध्यान दिएर पढिरहेकी हुन्छिन् । सबै शिक्षक र साथीहरु मिलनसार रहेपनि नेपाली विषय पढाउने सर (रमण) र साथी (सलिना) उनलाई मनपर्छ ।

उनि विद्यालयमा हुने क्रियाकलापमा चासोका साथ सहभागिता जनाउछिन् । उनलाई भलिबल खेल अत्यन्तै मनपर्छ । आफू सानो हुँदादेखिनै आमा विदेश गएका कारण उनलाई आमाको माया दिदीबाट पाईरहेकी छिन् । सानै देखि दिदीसंग हुर्किएको हुँदा दिदी आफ्नो मिल्ने साथी पनि रहेको उनि बताउछिन् ।

बहिनी प्रतिज्ञाको स्वभावबाट दिदी पुष्पा पनि खुशी छिन् । अनुशासित, ज्ञानी, आफू भन्दा ठुलालाई सम्मान गर्ने, सानालाई माया गर्ने, पढाईमा ध्यान दिने, घरायसी काममा सहयोग गर्ने स्वभाव प्रतिज्ञामा रहेको पुष्पा बताउँछिन् । प्रतिज्ञाले राम्रो पढेर डाक्टर बन्ने इच्छा राखेमा उनि पनि खुशी छिन् । साना बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिनुपर्ने, उनिहरुको इच्छा, चाहनालाई बुझ्न जरुरी रहेको पुष्पाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्