लागूऔषध चरेशसहित वीरगन्जको शंकराचार्य गेटबाट दुई भारतीय नागरिक पक्राउ
वीरगन्जः १० किलो अवैध लागूऔषध चरेशसहित वीरगन्जको शंकराचार्य गेट नजिकबाट पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रक्सौलका अनवर आलम र मोतिहारीका इम्तेआज आलम रहेका छन् ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेको अवस्थामा शंकराचार्य गेट नजिक इनर्वा प्रहरी चौकीको टोलीले जाँच गर्दा उनिहरुको साथबाट चरेश बरामद भएको प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनिहरुले २० प्याकेट चरेश तिघ्रामा बाँधेर र झोलामा बोकेर रक्सौलतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुलाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रवक्ता भारतीले बताएका छन् ।