प्रधानमन्त्री केपी ओलीले ‘ब्रेकथ्रु’ गरेसंगै छिचोलियो द्रुतमार्गको धेद्रे सुरुङ
सिमराः प्रधानमन्त्री केपी शर्मा ओलीको ब्रेकथ्रुसंगै राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक) मा निर्माणाधिन धेद्रे सुरुङ छिचोलिएको छ । आयोजनाको प्याकेज नं. २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका क्षेत्रमा निर्माण हुँदै गरेको धेद्रेको अर्को जोडी सुरुङ छिचोलिएको हो ।
काठमाडौंबाट निजगढतर्फ आउने एक हजार सात सय २८ मिटर लम्बाई रहेको उक्त सुरुङको ब्रेकथ्रु प्रधानमन्त्री ओलीले स्वीच थिचेर गरेका हुन् । प्रधानमन्त्री ओलीले ब्रेकथ्रु गरेसंगै धेद्रेका दुवै जोडी सुरुङ छिचोलिएको छ । धेद्रेकै अर्को जोडी सुरुङको २०८१ जेठ ११ गते ब्रेकथ्रु गरिएको थियो । निजगढबाट काठमाडौंतर्फ जाने उक्त सुरुङको लम्बाई एक हजार ६ सय ५३ मिटर रहेको छ ।
द्रुतमार्गमा निर्माणाधिन सुरुङमध्ये हालसम्म धेद्रे र लेनडाँडाका जोडी सुरुङको ब्रेकथ्रु भएको छ । यसअघि लेनडाँडामा काठमाडौंबाट निजगढ आउने एक हजार ६ सय ३३ मिटरको सुरुङको २०८१ जेठ ४ र निजगढबाट काठमाडौं जाने एक हजार ६ सय १२ मिटरको सुरुङको २०८१ असार २० गते ब्रेकथ्रु गरिएको थियो ।
धेद्रेको सुरुङको ब्रेकथ्रु गर्न प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, मुख्य सचिव लीलादेवी गड्तौला, विभिन्न मन्त्रालयका सचिव, प्रधानसेनापति प्रभुराम शर्मा, चीन र कोरियाका राजदूत सहभागी थिए ।