पर्सा राष्ट्रि निकुञ्जमा हराएका दुई जनाको शव भेटियो, हातीले आक्रमण गरेको आशंका


eShilalekh

२३ श्रावण २०८१, बुधबार १२:३५

सिमरा: पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको दुधेश्वरनाथ महादेव मन्दिर दर्शन गर्न आउने क्रममा हराएका दुई जना युवकको शव फेला परेको छ ।

निकुञ्जको शितलपुर खोला क्षेत्रमा दुई जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकेो छ । पर्साको प्रसिद्ध धार्मिक स्थल दुधेश्वरनाथ महादेव मन्दिर दर्शन गर्न मकवानपुरबाट मेला हेर्न आउने क्रममा उनीहरु हराएका थिए ।

मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नम्बर २ टुमकीका ३२ वर्षीय राजकुमार मेगी र मकवानपुरकै मनहरी गाउँपालिका वडा नम्बर ५ दिलिपुरका रामबहादुर मुक्तानको शब फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज रामभौडी भाठा पोष्टका रेन्जर चुमन ठाकुरले जानकारी दिए ।

उनकाअनुसार ईलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित लामाको नेतृत्वमा रामभौरी भाठा क्षेत्र पोस्टसँगै निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका क्याप्टेन, सुवर्णपुर बेसक्याम्पसबाट सशस्त्र प्रहरीसहितको टोली बेपत्ता भएका दुईजनाको खोजीमा परिचालित थियो । उनले शब भेटिएको शितलपुर खोलालाई रामभौरी भाठाको अति निषेधित क्षेत्र मानिएको बताए।

उनीहरुको पछि रहेका दुई जना भने हात्तीले आक्रमण गरेको देख्ने बित्तिकै भाग्न सफल भएका थिए । उनीहरु भागेर घर पुगेपछि दुई जना बेपत्ता भएको खबर पाएर खोजी थालिएको रेन्जर ठाकुरले बताए ।

मंगलवार बेलुका सवा पाँच बजे रामभौरी भाठा क्षेत्रबाट १२ किलोमिटर उत्तरतर्फ को शितलपुर खोला नजिक शब फेला परेको ठाकुरको भनाई छ । उनकाअनुसार सो क्षेत्रमा जंगली हात्तीको पाइलाहरु पनि देखिएको छ । जसले गर्दा जंगली हातीकै आक्रमण बाट ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले मुचुल्का उठाएर शबलाई सनाखतका लागि नारायणी अस्पतालमा पठाउने तयारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता दिपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्