बारा कोराः ‘साइकल चढौं, धार्मिक स्थलको प्रवर्द्धन गरौं’


eShilalekh

२४ श्रावण २०८१, बिहीबार १९:४९

सिमराः बारा राईडर्स संघको आयोजनामा साउन २६ गते हुने बारा कोरा २०२४ को तयारी पूरा भएको छ । आयोजक संघले पत्रकार सम्मेलनको आयोजना गर्दै कोराको तयारी पूरा भएको जनाएको हो ।

कोराको अर्थ कुनै पनि पवित्र धार्मिक वा तिर्थस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नु हो । कोरा साइकिलिङ च्यालेन्जका सहभागीले धार्मिक स्थललाई दाहिनेतर्फ पारेर अवलोकन गर्दै त्यस्ता ऐतिहासिक स्थलको उजागर गर्नेछन् ।

यसअघि चार वटा कोरा सम्पन्न गरिसकेको बारा राईडर्स संघले पाचौं पटक कोरा च्यालेन्जको आयोजना गर्दैछ । उक्त कार्यक्रममा बारा, मकवानपुर, काठमाडौं, नवलपरासीका एक सय ५० जना भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको संघका अध्यक्ष शेषराज अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन पाँच सय रुपैया शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । उक्त शुल्क तिरेर नाम दर्ता गराएका सहभागीले बिहानीको खाजा, खाना, पानी र बारा कोराको एक थान टिसर्ट प्राप्त गर्नेछन् ।

सिमरा चोकमा रहेको रामजानकी मन्दिरबाट बिहान ६ बजे सुरु हुने कोरा करिब ४० किलोमिटरको यात्रापछि सिमरा पार्कमा आएर सम्पन्न हुनेछ । आयोजक बारा राईडरका अध्यक्ष अधिकारीका अनुसार सिमराको राम जानकी मन्दिर, जीतपुर गढीमाई मन्दिर, मधेस स्मारक, जामे मस्जिद, वडा नं. ३ को शिव मन्दिर, गुम्बा, वडा नं. २ को मुसर्नीमाई, छठीमाई, वडा नं. १ को भिमेश्वर मन्दिर, पशुपति मन्दिर, गुम्बा हुँदै वडा नं. १४ को पशुपति मन्दिर, वडा नं. १५ को गुम्बा, वडा नं. १४ को रामजानकी मन्दिर, वडा नं. ४ कृष्ण प्रणामी मन्दिर, शिव मन्दिर, वडा नं. १ सिमरास्थित शिव मन्दिर घुमेर सिमरा पार्कमा कोरा सम्पन्न हुनेछ ।

कोरा सम्पन्न गर्नका लागि करिब साढे तीन लाख अनुमानित खर्च हुने कोषाध्यक्ष आरके भट्टराईले जानकारी दिए । कोरालाई ग्लोबल केबल नेटवर्क र जगदम्बा स्टील्स्ले मुख्य सहयोगीको रुपमा सहयोग गर्नेछन् ।

यसैगरी हुलास स्टील्स्, तराई यातायात व्यवासायी संघ, सिमरा कलेज, पाथिभरा इङ्लिस स्कुल, डिआर कन्स्ट्रक्सन, आरबी एमटिबी एण्ड स्पोर्टस् शप, अटो जोन सिमरा, युआर अटोमेटिक लण्ड्री, साना किसान कृषी सहकारी संस्था डुमरवाना, दुग्ध उत्पादक कृषी सहकारी संस्था डुमरवाना, सम्राट निर्माण सेवा, सम्मान बचत तथा ऋण सहकारी संस्था, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १, २ र १४ को कार्यालयले सहयोगीका रुपमा छन् ।

कोराको इन्स्योरेन्स पार्टनरका रुपमा आईजिआई प्रुडेन्सीयल, मेडिकल पार्टनर सिटि स्टार अस्पताल, मिडिया पार्टनर इशिलालेख डट कम र रातोघर रहेका छन् । कार्यक्रममा एक साइकल यात्रीलाई समेत सम्मान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बारा जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामा, नव जनजागृति युवा क्लबका पूर्व अध्यक्ष राजकुमार भट्टराई, मिनप्रसाद आपागाईं, राईडर्स संघका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव शालिकराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्