मधेस टपर मण्डलसहित ‘एप्लस’ ल्याउने विद्यार्थीलाई सिमरा पब्लिकको छात्रवृत्ति र सम्मान


eShilalekh

२४ श्रावण २०८१, बिहीबार २०:४५

सिमराः मधेस प्रदेशमै सर्वाधिक जिपिए ल्याएर कक्षा १२ को परीक्षा उतिर्ण गरेकी काजल मण्डलसहित १४ जना विद्यार्थीलाई सिमरा पब्लिक स्कुलले बिहीबार छात्रवत्ति प्रदान गर्दै सम्मान गरेको छ । ३.९१ जिपिए ल्याएर मधेस टप गरेकी मण्डलसहित एप्लस ल्याउने विद्यार्थी र उनका अभिभावकलाई स्कुलले छात्रवृत्तिवापत ३० हजारको चेक प्रदान गर्दै सम्मान गरेको हो ।

स्कुलले ३.६२ जिपिएदेखि ३.९१ जिपिए ल्याउने सबै विद्यार्थीको एक वर्षको पढाई शुल्क छात्रवृत्तिमार्फत फिर्ता गरेको हो । स्कुलले उक्त छात्रवृत्तिवापत एकैपटक चार लाख २० हजार रकम वितरण गरेको छ ।

उक्त स्कुलबाट मधेस टपर मण्डल (३.९१) सहित क्रिशा भट्ट (३.८८), राजन श्रेष्ठ (३.८१), दीपक ठाकुर (३.७५), विवश श्रेष्ठ(३.७०), आशिका लामिछाने (३.७०), दीक्षा न्यौपाने (३.७०) दीपा पाठक (३.६६), प्रज्वन लामा (३.६५), अंशु शर्मा बाँस्कोटा (३.६४), इन्छु स्याङ्तान (३.६४), सविन घले (३.६४), स्वस्तिका श्रेष्ठ (३.६४), सुजल पौडेल (३.६२) ले ‘एप्लस’ ल्याएर कक्षा १२ को परीक्षा उतिर्ण गरेका थिए । स्कुलको कक्षा ११ र १२ का संयोजक सुमनकुमार भट्टराईले उत्कृष्ट अंकसहित परीक्षा उतिर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति र सम्मान प्रदान गरिएको बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, स्कुलका प्रिन्सिपल बसन्त ढकाल, कक्षा ११ र १२ का संयोजक भट्टराईले विद्यार्थी र उनका अभिभावकलाई चेक र सम्मानपत्र हस्तान्तरण गरेका थिए । ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालक स्कुलका संस्थापक अध्यक्ष एवम् सिमरा कलेज प्रमुख शालिकराम अधिकारीले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेमश तिवारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडासदस्य राकेश सुब्बालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा भाइस प्रिन्सिपल संजीवकुमार झाले स्वागत मन्तव्य राखेका थिए ।

पूर्व विद्यार्थी भट्टलाई सम्मान
कार्यक्रममा स्कुलका पूर्व विद्यार्थी एवम् हाल पेशाले चार्टर एकाउन्टेन्ट सरोज भट्टराई सम्मान गरिएको थियो । सोही स्कुलमा अध्ययन गरेर चार्टर एकाउन्टेन्ट जस्तो पेशामा आवद्ध रहेको र अन्य विद्यार्थीलाई समेत प्रेरणा मिलोस् भन्ने उदेश्यले कार्यक्रममा भट्टलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्