स्वास्थ्य र धार्मिक पर्यटनका लागि बारा ‘कोरा’


eShilalekh

२५ श्रावण २०८१, शुक्रबार १७:३०

सिमराः बारा राइडर्स संघको आयोजनामा शनिबार बिहान बारा कोरा २०२४ आयोजना हुँदैछ । सिमरा बजारस्थित रामजानकी मन्दिरबाट बिहान ६ बजे कोरा यात्रा सुरु हुनेछ । कोरामा एक सय ५० भन्दा बढीको सहभागिता रहनेछ ।

आयोजक संघले कोरामा सहभागी हुन सबैलाई आग्रह गरेको छ । सिमरा बजारबाट सुरु हुने कोरा ४० किलोमिटरको यात्रापछि सिमरा पार्कमा आएर सम्पन्न हुनेछ । साइकल चढेर धार्मिक स्थललाई दाहिनेतर्फबाट परिक्रम गर्नुलाई कोरा भनिन्छ ।

के भन्छन त बारा कोराका आयोजक?

शेषराज अधिकारी, अध्यक्ष, बारा राइडर्स संघ

कोरा भन्नाले नेपालमा मात्र नभएर कोराको अवधारणा विश्वभरी नै छ र साइकिलिङसंग आवद्ध भएका हरेक राष्ट्रमा यो कार्यक्रम गरिन्छ । यसले मान्छेमा खोजको विकास गराउँछ, त्यसैले यो महत्वपुर्ण छ । आफ्नो क्षेत्र भित्र रहेका पर्यटन, प्रवर्द्धनको लागि मान्छेहरु घुम्न आउँदा कहाँ जाने, के गर्ने भन्ने कुराको अन्त्य गर्न र स्थानको चयन गर्न कोरोले मद्यत गर्छ । त्यसैले कोरालाई स्वास्थ्य र धार्मिक पर्यटन प्रवद्र्धनसंग जोडेर अघि बढाउन सकिन्छ ।

राजदास श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, बारा राइडर्स संघ

कोरा भन्नाले यहाँको प्रचलित ठाउँहरु जस्तै मठ मन्दिरलाई दाहिनेबाट परिक्रमा गर्नुलाई कोरा भनिन्छ हाम्रो साइकिलिङ भाषामा र यो विश्वव्यापी हो । कोराले गर्दा हाम्रो स्वास्थ्यदेखि लिएर र वातावरण, पर्यापर्यटनमा टेवा पुग्नेदेखि लिएर लुकेर रहेका महत्वपूर्ण ठाउँहरुलाई कसरी चिनाउने भन्ने नै हाम्रो मुख्य उदेश्य हो । स्थानिय सरकारले वातावरण सम्बन्धी प्रणालीलाइ विशेष ध्यान दिनुपर्छ । हामीले उपमहानगरपालिकामा ताकेता गरिरहेका छौं । सहयोग पनि पाईरहेका छौं तर सोचेको जस्तो हुन सकेको छैन । कोरालाई स्थानिय तहले नै जिम्मा लिएर वातावरण दिवसमा विशेष कार्यक्रम गर्न सकिन्छ ।


शालिकराम अधिकारी, महासचिव, बारा राइडर्स संघ

साइकलको माध्यमबाट नेटवर्किङ र सद्भावको विकास गर्न सकिन्छ भन्ने हिसाबले कोरा राईड हामीले विगत पाँच वर्षदेखि संचालन गर्दै आईरहेका छौँ । यसले विशेष गरेर स्थानीय ठाउँको धार्मिक स्थलको उजागर, संरक्षण र आन्तरिक पर्यापर्यटनको विकास गर्नकालागि विशेष गरेर यो कोराको आयोजना हुने गर्दछ । हुन त् अन्तर्राष्ट्रिय हिसाबले हेर्ने हो भने यसको मिति तय छ, तर हामीले साउन २६ गते आयोजना गर्दैछौं । जीतपुरसिमरा उपमहानगरपालिका ठूलो भएकोले हिसाबले एउटा कुनादेखि अर्को कुनासम्म जोडनको लागी स्थानिय सरकारको समन्वय र सकारात्मक सहकार्य भयो भने बारा राइडर्स संघले अग्रता देखाउनेछ ।

रामेश्वर बाँस्कोटा, सचिव बारा राइडर्स संघ

कोरा भनेको एउटा साईकलको पर्व र महाकुम्भ हो । अर्को भाषामा भन्नु पर्दा स्थानिय मठ मन्दिरलाई खोजी गरी सबै सामु चिनाउनुलाई पनि कोरा भनिन्छ । कोरा विश्वभरी जुलाई १६ मा आयोजना गरिन्छ । हामीले भने समयानुकुल आयोजना गरिरहेका छौं । यस्को फाइदा मान्छेको शरीरमा रहेको टकसिङ (विष) शरीरबाट निस्कियोस् भनेर साईकल राइड गर्ने उदेश्यले बनाएको कार्यक्रम हो । यो एकदम प्रत्यक्ष वातावरण र मानवस्वास्थ्य संग जोडिएको हुनाले कोरालाई विश्वमै पर्वको रुपमा मनाइने गरिन्छ ।

आरके भट्टराई, कोषाध्यक्ष, बारा राइडर्स संघ

कोरा भन्नाले साइकिलिस्टहरुको एउटा उत्सव हो । यो उत्सव साउन महिनामै पर्ने भएकोले यहाँ भएका विभिन्न धार्मिक स्थलको प्रवद्र्धनका लागि महत्वपुर्ण भूमिका खेल्छ । कोरामा धार्मिक स्थललाई घडीको सुई दिशामा अर्थात दाहिने पारेर परिक्रम गर्ने गरिन्छ । जसले हाम्रो भौगोलिक चिनारी सहित हाम्रो विशिष्टता के हो भन्ने देखाउछ । त्यो संगै कोराले वातावरणलाई स्वच्छ र प्रदुषणविरुदको अभियानमा टेवा पुर्याउछ भन्ने सन्देश दिनको लागि कार्यक्रम हुँदै आएको छ । कार्यक्रम गर्दै गरेको हो ।
स्थानीय तहले यसलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्छ ।


लक्कि रिमाल, सदस्य, बारा राईडर संघ

अन्तर्राष्ट्रिय रुपमा कोरा एकैदिन मनाउनु पर्ने साईकलको पर्व हो । कोराको मुलभूत उद्देश्य भनेको आफनो वरिपरी भएको पर्यटकिय स्थल चिनाउन नसकेको वा नचिनेको ठाउँलाई उजागर गर्ने भन्ने हो । संगसंगै स्वास्थ्यसंग पनि जोडिएको छ । साइकल वातावरणमैत्री हो, जसले गर्दा विहान बेलुकाको साधारण छोटो दुरीको स्थानलाई मोटरसाइलकको साटो साइकलबाट तय गरियो भने वातावरण संरक्षणमा पनि टेवा पुग्छ र स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ ।


मिनप्रसाद आपागाईं, साइकिलिस्ट

साइकिलिङ मान्छेको स्वास्थ्यसंग र वातावरण संग जोडिन्छ । यसले धुवा, धुलो फ्याल्दैन । पूर्णरुपमा वातावरणमैत्री हो । गाडी वा मोटरसाइकलको इन्धन जलेर जुन धुवा निस्किन्छ, जसले वातावरण र मानवस्वास्थयमा असर गरिरहेको हुन्छ । त्यसबाट जोगिन पनि साइकलको महत्व छ । साइकिलिङलाई धार्मिक पर्यटनसंग जोडेर कोराको आयोजना हुन्छ । कोराको आफ्नो विशेषता र महत्व छ । यसलाई स्थानीय स्तरको महत्वपूर्ण कार्यक्रमकारुपमा अघि बढाउनुपर्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्