तेक्वान्दो खेलाडी गुभाजु र यादव सम्मानित


eShilalekh

२७ श्रावण २०८१, आईतवार १४:५७

सिमराः नेपाल तेक्वान्दो संघ मधेस प्रदेशले तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी सागर गुभाजु र जैकी यादवलाई सम्मान गरेको छ । सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा आयोजित कार्यक्रममा संघका महासचिव राजकुमार लामाले गुभाजु र यादवलाई सम्मान गरेका हुन् ।

गुभाजु हाल अमेरिकामा बस्छन् भने यादव त्रिभुवन आर्मी क्लबमा आवद्ध भएर तेक्वान्दो खेलिरहेका छन् । यादवले हालै चिनमा सम्पन्न १९औं एशियाली खेलकुदमा सहभागिता जनाएका थिए । वीरगन्ज तेक्वान्दो डोजाङमा आवद्ध जैकी पछिल्लो पुस्ताको प्रतिभावान खेलाडी हुन् ।

अमेरिकाबाट हालै नेपाल आएका गुभाजु पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै दुई पटक एशियाली खेलकुदमा सहभागिता जनाइसकेका छन् । गुभाजुले नेपाल, भारत, कोरिया, अष्ट्रेलिया, अमेरिकाको विभिन्न प्रतियोगितामा सहभागी भएर पदक जितेका छन् । गुभाजु नेपालको तेक्वान्दोलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी हुन् ।

दुवै खेलाडी वीरगन्ज आएको अवसर पारेर संघले सिमरामा कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । यादव खेलकै लागि काठमाडौं फर्किएका छन् भने गुभाजु केही दिनपछि अमेरिका जानेछन् ।

प्रतिक्रिया दिनुहोस्