कस्मेटिक व्यवसायमा जमेकी रिना


बिनिता खत्री

२९ श्रावण २०८१, मंगलवार १५:१६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ की रिना बजगाईं विगत १३ वर्षदेखि कस्मेटिक सम्बन्धी व्यवसायमा रमाईरहेकी मात्रै होईनन् यसै पेशालाई आफ्नो परिवारको गुजारा टार्ने बलियो स्रोत बनाएकी छिन् । जीतपुरमा रहेको उनको पसल खासगरी महिलाले प्रयोग गर्ने श्रृंगार, कपडालगायतका सामग्रीले भरिभराउ छ ।

सानो पसलबाट व्यवसाय सुरु गरेकी रिनाले बुधबारमात्रै रिना कलेक्सन नामको नयाँ पसलको शुभारम्भ गरेकी छिन् । आफ्नो व्यवसायलाई वृहत् बनाउँदै लगेकी रिना एउटा स्वरोजगार र आत्मनिर्भर महिलाको रुपमा स्थापित छिन् ।

कक्षा १२ सम्मको अध्ययन गरेकी रिनाले प्रवेशिका परीक्षा जीतपुरको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयबाट उतिर्ण गरेकी थिईन् । १८ वर्षकै उमेरमा विवाह गरेकी उनको श्रीमानसहित एक छोरा, एक छोरी छन् । उनको श्रीमान् नेपाल प्रहरीको बरिष्ठ हवल्दार हुन् ।

दुई सन्तानमध्ये १५ वर्षीय छोरी कक्षा ९ अध्ययनरत छिन् भने पाँच वर्षीय छोरालाई उनले भर्खरै विद्यालय पठाउन थालेकी छिन् । श्रीमान् कामका सिलसिलामा बाहिरै रहने हुँदा उनले आफ्नो दुई सन्तानको हेरचार गरेर व्यवसाय गर्छिन् ।

व्यवसायसंगै विभिन्न संघसंस्थामा समेत उनको सक्रिय आवद्धता छ । उनी अहिले बारा जिल्लाको महिला उद्यमी संघमा उपाध्यक्ष, मानव अधिकार एलाईन्समा कोषाध्यक्ष छिन् । राजनीतिमा समेत उनको उत्तिकै चासो छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनको नाम नेकपा माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्षको उम्मेदवारका लागि सिफारिस समेत भएको थियो । तर अन्तिम समयमा उनि आवद्ध दलले अर्को दललाई समर्थन गरेपछि उनले टिकट प्राप्त गरिनन् । आर्थिक अवस्थाको कारण देखाएर आफ्नो टिकट खोसिएको र नेतृत्व तहसंग लड्न नसकेको भन्दै उनले पार्टी नै परित्याग गरिन् ।

जनप्रतिनिधि भएर सेवा गर्ने अवसर गुमेपनि उनले उद्यमी महिलाको अधिकारका लागि निरन्तर काम गर्दै आईन् । कोरोनापछि उनले उद्यमी र व्यवयासी महिलाहरुका लागि सहुलियत कर्जामा प्राप्त हुने ऋणका लागि सहजीकरण गरिन् । उनकै सहजीकरणमा १९ जना उद्यमी र व्यवसायी महिलाले सहुलियत कर्जा प्राप्त गरे । त्यसबाहेक उनी महिला उद्यमी र व्यवसायीको विभिन्न समस्या सुल्झाउन अग्रपंक्तीमा उभिने गरेकी छिन् ।

आफू समेत महिला व्यवसायी भएका कारण महिलालाई आत्मनिर्भर बनाउन उनले आफ्नो तहबाट खेल्नुपर्ने भूमिकालाई निर्वाह गर्दै आईन् । रिना आफू पनि सानो उमेरदेखिनै आफ्नो व्यवसाय सुरु गर्न चाहन्थिन् । उनि कक्षा ८ मा पढ्दा उनको बुवाको पत्रीका पसल थियो । त्यतिबेला उनले सिलाईंको काम सिकेकी थिईन्, त्यही सिलाईंको कामलाई अघि बढाउन थालिन् । त्यसमै उनले करिब १५ हजार बराबरको कस्मेटिक सामान राखिन् । उनले राखेको कस्मेटिक सामान बिक्री हुन थाल्यो । पछि उनले सिलाईंको काम छोडेर कस्मेटिक सामान नै बिक्री गर्ने सोचिन् ।

बजार क्षेत्रमा कस्मेटिकको पसल खोल्दा व्यापार राम्रो हुने र सोही अुनसारको आम्दानी हुनेमा उनी आशावादी थिईन् । त्यही आशासहित रामवन टाडीमा आफ्नो माईती नजिकै संचालनमा रहेको टेलर बन्द गरेर उनि साइकल लिएर कस्मेटिक पसल खोल्ने सटर खोज्न जीतपुर पुगिन् ।

सानो सटरमा दुई लाख लगानी गरेर आफ्नो व्यवसाय उनले सुरु गरिन् । माईती नजिकै भएका कारण उनले आफ्नो बुवा, आमाको समेत साथ र सहयोग पाईन् । दुई लाखबाट सुरु भएको व्यवसायले उनलाई अहिले मासिक ३० हजारसम्म आम्दानी दिने गरेको छ ।

कस्मेटिकसम्बन्धी ज्ञान नभएका कारण सुरुमा केही गाह्रो भएपनि विस्तारै सहज हुँदै गएको उनले बताईन् । सो समयमा उनलाई घर परिवार र नजिकै रहेका अन्य पसलका संचालकले सहयोग गरे । आर्थिक अवस्थाका कारण पसलमा काम गर्नका लागि अन्य सहयोगी राख्न सक्ने अवस्था थिएन । उनि आफै पसलको सम्पूर्ण काम गर्थिन् ।

महिलाहरु रोजगारीका लागि विदेशिने क्रम बढीरहेका बेला आफू भने देशमै बसेर स्वरोजगार हुन्छु भन्ने अठोट लिएकी रिनाले विस्तारै लय समात्दै गईन् । ‘प्रायजसो मानिसहरु वैदेशिक रोजगारी तिर आकर्षित छन् । तर मलाई वैदेशिक रोजगारीमा जाने सोच कहिल्यै आएन् र रहर पनि भएन् । जे काम गर्छु आफ्नै देशमा गर्छु भन्ने सोच थियो । मेरा भाई बहिनी नै विदेशमा छन् । मलाई दुःख पर्दा हरेक पाईलामा मेरा आमाबुवा साथमा उभिनु भएको थियो । त्यसकारण आमाबुवा छोडेर विदेश जाने कुरै भएन’।

सानैदेखि व्यवसायमा रमाउन खोज्ने रिनाले जीतपुरमा पसल खोलेर आफ्नो व्यवसायलाई अघि बढाउन थालिन् । श्रीमान् प्रहरीमा जागिर भएका कारण घरमा बस्न नपाउने, साना छोराछारीलाई स्याहार र हेरचार गर्न गाह्रो हुने जस्ता समस्या उनले भोगिन् । तर माईती नजिकै हुँदा उनलाई सहज भयो ।

संघर्ष गर्दै सुरु गरेको उनको व्यवसाय अहिले विशाल बन्दै गएको छ । उनको पसलमा अहिले दुई जनाले रोजगारीको अवसर पाएका छन् । छोरीले समेत पसलमा आएर सघाउने गरेकी छिन् । जीतपुरको व्यस्त बजारमा उनको पसलमा अहिले सिजनका बेला एक लाख भन्दा बढी व्यापार हुने गरेको छ ।

उनको आम्दानीले छोराछोरीको अध्ययन र घरपरिवारको गुजारा राम्रोसंग चलेको छ । त्यसमा नेपाल प्रहरीमा कार्यरत श्रीमान्को सेवासुविधाले थप सहज हुने स्वभाविक नै भयो । आफ्नै पहलमा व्यवसाय संचालन गरेर जीवनलाई सहज बनाउँदै लगेकी रिनाले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउँछिन् ।

स्थानीय सरकारले संचालन गर्ने सीपमुलक तालिममा महिलालाई सहभागी गराएर व्यवसाय संचालन गर्न चाहने महिलालाई लगानी गर्न सकिए महिलाहरु आत्मनिर्भर हुँदै जाने उनको भनाई छ । महिलाहरुलाई सीपमुलक तालिम दिने, लगानी गर्ने, काम गर्न थालेपछि अनुगमन गरेर लगानी फिर्ता लिने वातावरण बनाउँदै लैजाने खालको कार्यविधि स्थानीय तहले बनाउनुपर्ने रिनाले बताईन् ।

महिलाहरु आत्मनिर्भर भए समाज परिवर्तन र समृद्धिका आधारहरु थप बलियो हुँदै जाने हुँदा व्यवसायमा अघि बढ्न चाहने महिलाई प्रोत्साहन गर्नुपर्ने रिनाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्