जनकल्याणः वनसंग जोड्न गठन गरिएको समूह बन्यो सफल सहकारी


निलिसा वर्मा

२९ श्रावण २०८१, मंगलवार १७:४४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाकै जेठो सहकारीको रुपमा चिनिने जन कल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०५८ सालमा भएको थियो । आज भन्दा करिव २२ वर्ष अगाडि पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन सूर्य बहादुर पाण्डेले केहि स्थानीयलाई वनसंग जोड्न वनसमुह गठन गरेका थिए । समूहमा बचत कसरी गर्ने? केका लागि गर्ने? भनेर सिकाईयो । दिनको पचास पैसा बचत गरी महिनाको १५ रुपैयाँ बचत गर्ने कामको सुरुवात भयो ।

बचतको रकम बढदै जाँदा यसलाई अब सुरक्षित कसरी राख्ने त भन्ने प्रश्न उठ्यो । यस समस्याको निवारणकालागि निकुञ्जका वार्डेन र समूहका व्यक्तिहरु मिलेर सहकारी संचालन गर्ने निष्कर्षमा पुगे । सहकारी संचालन गर्नका निम्ति ११ जनाको सहभागितामा जनहित उपभोक्ता समिति गठन भयो । सुरुवातमा उपभोक्ता समिति र समूहलाई आवश्यक परेका हरेक सामान निकुञ्जले नै उपलब्ध गरायो ।

उपभोक्ता समिति पनि स्थापित भईसके पश्चात् सहकारीबारे छलफल सुरु भयो । स्थानीयको हितका लागि, आत्मबल बढाउन, आत्मनिर्भर बनाउने जस्ता उद्देश्यका साथ जन कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो र २०५९ साल असार २ गते कानुनी रुपमा दर्ता गरियो । बफरजोन घोषणा भएपश्चात् सहकारीले यतिबेला जन कल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको नामले सेवा प्रदान गर्दै आएको छ ।

सहकारी दर्ता भएपछि शेयर सदस्य खोज्न समेत गाह्रो थियो । सहकारीलाई विश्वास गरिहाल्ने वातावरण थिएन । तरपनि २६ जनाले एक–एक सयको शेयर लगानी गरि २ हजार छ सय रुपैयाँले सहकारीको कारोबार आरम्भ भएको अध्यक्ष कमला घिमिरेले बताईन् । यतिबेला सहकारीले १९ करोडको कारोबार गर्दैछ ।

२६ जना शेयर सदस्यबाट सुरु भएको सहकारीको यात्रामा अहिले एक हजार आठ सय शेयर सदस्य छन् भने एक करोड २० लाख ५२ हजार नौ सय रुपैया शेयर पूँजी छ । सहकारीले १३ करोड ३० लाख २७ हजार नौ सय रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको दैनिक बचत दुई लाख देखी १५ लाख सम्म हुन्छ र अहिले सम्म संस्थामा १३ करोड १६ लाख ३ हजार ६ सय ८८ रुपैयाँ बचतवापत जम्मा भईसकेको छ । यस सहकारी संस्थाले बचत संकलनकालागि बजार प्रतिनिधि राखेको छैन । दैनिक तथा मासिक बचतकालागि शेयर सदस्यहरु आफै कार्यालयमा पुगेर बचत जम्मा गर्ने गरेका छन् ।

संचालक समिति
संस्थाको हालसम्म तदर्थ समिति समेत गरी पाँच पटक संचालक समिति परिवर्तन भईसकेको छ । हालसम्म तीन जना संस्थाको अध्यक्ष पदमा रहेर नेतृत्व गरेका छन् । २०५८ मा तदर्थ समितिको नेतृत्व पथलैयाकी निर्मला कटुवालले गरेकी थिईन् भने त्यसपछिको लगातार चार कार्यकाल मधुसुदन सिटौला नेतृत्वमा थिए । हाल संस्थाको नेतृत्व कमला घिमिरेले गरिरहेकी छिन् ।

समिति तथा उपसमिति
यस सहकारी संस्थामा ११ जनाको संचालक समिति छ भने संस्थाले विभिन्न समिति पनि गठन गरेको छ । सहकारीमा तीन सदस्यीय लेखा समिति, तीन सदस्यीय ऋण समिति र तीन सदस्यीय शिक्षा समिति रहेको छ ।

भवन निर्माण र योगदान
सहकारी दर्ता त गरियो तर काम कहाँ र कसरी गर्ने अन्यौल थियो । कार्यालय, कर्मचारी, कार्यालयमा प्रयोग हुने सामग्री र व्यवस्थापन बारे छलफल भयो । त्यतिबेला तलब दिएर कर्मचारी राख्ने क्षमता थिएन । आरक्षले समूहरुको आवश्यकता पूरा गरेकै थियो, त्यसकारणले सहकारीको जिम्मेवारी पनि आरक्षमाथि थप्नु उचित थिएन । तर पनि आरक्षका कर्मचारी रमेश पण्डितले सहकारीलाई चाहिने कागतपत्र, रजिष्टरलगायत अन्य सामग्री उपलब्ध गराएको अध्यक्ष घिमिरेले बताईन् । सहकारीको ऐन, विनियम, विधान बनाउने काममा मुकुन्दबहादुर क्षेत्रीले निकै मिहिनेत गरे ।

सहकारीको कार्यालय सुरु गर्न सहकारीका सदस्य हरिप्रसाद घिमिरेले तीन महिनाकालागी निःशुल्क रुपमा आफ्नै घरमा कोठा उपलब्ध गराए । कर्मचारीको रुपमा विष्णु घिमिरेले नौ महिना सम्म निःशुल्क रुपमा सहकारीको हिसाब किताब, बचत लेनदेनको काम सम्हाले । त्यसपश्चात् सहकारीकी कोषाध्यक्ष सरस्वती पाण्डे सिटौलाले पनि निःशुल्क रुपमा संस्थाको कार्यालय सम्हालिन् ।

प्रथम साधारणसभा पछि कर्मचारी नियुक्त गरी तलबमा कर्मचारी राख्ने काम सुरु भयो । विस्तारै शेयर सदस्य थपिदै गए । समूहहरु पनि सक्रिय हुँदै गए । ऋणको माग संगसंगै सहकारीको कारोबार बढ्दै गयो ।

यतिबेला सहकारीको आफ्नै निजि भवन छ । निजि भवनमा आईपुग्दासम्म सहकारीले विभिन्न ठाँउमा आफ्नो कार्यालय सारेको थियो । २०७४ सालमा सहकारीको आफ्नै भवन निर्माण भयो । उक्त भवन निर्माण गर्दा सहकारीले कुनै निकाय, संस्था, स्थानीय तहबाट आर्थिक सहयोग नपाएको अध्यक्ष घिमिरेले बताईन् । भवन निर्माणका लागि जग्गा किन्दा ऋणको आवश्यकता पर्यो । संचालक समितिका सबै सदस्यले आफ्नो लालपूर्जा राष्ट्रिय सहकारी बैंकमा बुझाएका थिए ।

ऋणका प्रकार तथा ब्याजदर
सहकारीले १० प्रतिशतदेखि १४.७५ प्रतिशतसम्मको ब्याजदर कायम गरी विभिन्न १७ किसिमको कर्जा सेवा दिदै आएको छ । संस्थाले व्यापार कर्जा, कृषि कर्जा, घर निर्माण कर्जा, सामाजिक कर्जा, शैक्षिक कर्जा, घरेलु उद्योग कर्जा, पशुपालन कर्जा, वैदेशिक रोजगारी कर्जा, आकस्मिक कर्जा, उपचार कर्जा, सेवामुखि व्यवसायी कर्जा, तरकारी खेती कर्जा जस्ता शिर्षकहरुमा ऋण लगानी गर्दै आएको छ ।

बचत प्रकार तथा ब्याज
सहकारीले बचततर्फ तीन प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरी साधारण बचत, बाल बचत, मुद्धति बचत, क्रमिक बचत, जिवनवृती बचत, संचयकोष जस्ता विभिन्न शिर्षकमा बचत सेवा संचालन गर्दै आएको छ ।

सामाजिक योगदान
संस्थालाई स्थापित गर्नुका साथै सामाजिक योगदानमा पनि सहकारीले भूमिका निभाएको छ । सुत्केरी पोषण, चौतारा निर्माण, छात्रवृति प्रदान, स्वास्थ्य शिविर, कृषि तालिम, भेटेनरी तालिम, प्रकोपमा परेकालाई सहयोग, अक्षयकोष निर्माण जस्ता विभिन्न सामाजिक कार्यमा योगदान गरेको छ ।

सहकारीको शेयर सदस्यकालागि सुविधा
यस सहकारीसंग कारोबार गर्ने शेयर सदस्यकालागि सहकारीले विभिन्न सुविधा दिएको छ । नियमित रुपले बचत गर्ने तथा ऋण चुक्ता गर्ने सदस्यलाई सम्मानका साथै ब्याजदरमा छुट, ज्येष्ठ नागरिक सम्मान, हरेक वर्ष संरक्षित पूँजी वितरण, समूलाई सम्मान, आर्थिकक मन्दी तथा प्रकोपका समयमा ब्याजमा १०० प्रतिशतसम्म छुट, नियमित बचत गर्ने तथा ऋण चुक्ता गर्नेलाई असार मसान्तमा तीन प्रतिशतसम्म छुट, शेयरसदस्य मध्ये कसैको मृत्यु भएमा आर्थिक सहयोग जस्ता विभिन्न सहुलियत प्रदान गर्दै आएको छ ।

उत्कृष्ट वापतको सम्मान
यस सहकारी संस्था विभिन्न क्षेत्रबाट पटकपटक सम्मान प्राप्त गर्दै आएको छ । यस संस्थाले डिभिजन सहकारी बैंकबाट २०६१ र २०६७ सालमा, जीतपुरसिमरा उपमहानगरपालिकाबाट २०७८ र २०७९ मा, राष्ट्रिय सहकारी बैंकबाट २०७४ र २०८० सालमा उत्कृष्ट कार्यसम्पादनवापत सम्मान पाएको छ ।

प्रतिक्रिया दिनुहोस्