उपप्रमुख अधिकारीको उपस्थितीमा शिक्षिका अधिकारीले गरिन् हाजिर


eShilalekh

३२ श्रावण २०८१, शुक्रबार ११:३७

सिमराः लामो समयको विवाद र अन्तरविरोधपछि शिक्षिका सीता अधिकारीले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाजिर गरेकी छिन् । विद्यालयमा शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको उपस्थितीमा भएको छलफलपछि विद्यालय व्यवस्थापन समिति अधिकारीलाई हाजिर गराउन सहमत भएको हो ।

छलफलमा उपप्रमुख अधिकारीसहित नगर शिक्षा समितिका सदस्य हरिदेव खरेल, हिराबहादुर गुरुङ, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सुनिल गुप्ता, भोजबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेत, प्रध्यानाध्यापक शंकर आचार्यलगायतको उपस्थिती रहेको थियो । छलफलमा नगर उपप्रमुख अधिकारीले शिक्षक सरुवाको विवादलाई थप नबढाउन र सरुवा भएका शिक्षकलाई हाजिर गराउने वातावरण बनाउन आग्रह गरेका थिए ।

बैठकमा अधिकारीले अबदेखि शिक्षकको सरुवा, दरबन्दी मिलान र पदस्थापन गर्दा वैज्ञानिक ढंगले तथा विवाद नहुने गरी गर्ने, विद्यालय व्यवस्थापन समितिसंग छलफल गरेर मात्रै गर्ने प्रतिवद्धता जनाएका थिए । नगर उपप्रमुखको प्रतिवद्धतापछि विद्यालय व्यवस्थापन समितिले अधिकारीलाई हाजिर गराएको हो ।

छलफलमा सहमति जुटेपछि विद्यालय व्यवस्थापन समितिले खादा लगाएर अधिकारीलाई विद्यालयमा स्वागत गरेको थियो । सहमतिसंगै जेठ १७ गतेदेखिको शिक्षक सरुवा विवाद टुंगिएको छ । विद्यालयले जीतपुर सरुवा भएका शिक्षक मेघनाथ बराललाई रमाना दिने तयारी गरेको छ ।

नगर शिक्षा समितिले गत जेठ १७ गते जीतपुरस्थित फकिरा गिरी राजेश्वर माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी अधिकारीलाई सिमरा र सिमरास्थित विद्यालयमा कार्यरत बराललाई जीतपुरमा सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि सुरु भएको विवाद साउन २९ गते नगर प्रमुख राजन पौडेल र वडाध्यक्ष श्रेष्ठबीच घम्साघम्सीको स्थिती बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्