पर्सा प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध गाँजा र चरेस बरामद, एक जना पक्राउ
सिमराः पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा र चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाउँका ४० वर्षीय फुलसरिफ मियाँ रहेका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा बिहीबार राति छापा मार्दा लुकेर बसेको अवस्थामा मियाँलाई ३० के.जी लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
निजसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकैको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको १९२ के.जी चरेस र २६७ के.जी गाँजा बरामद भएको प्रहरी उपरीक्षक दिपक भारतीले बताए ।
उनका अनुसार अकवा गाउँको बासघारीमा लागूऔषधको खरिदबिक्री भइरहेको सूचना पाए पश्चात जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली खटिएको थियो । उक्त प्रहरी टोलीले अकवा गाँउको बाँसघारीमा लुकेर बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको थियो ।
मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको भारतीले जानकारी दिए ।