पचरौतामा सुविधासम्पन्न दन्त अस्पताल तथा फिजियोथेरापी सेवाको शुभारम्भ


eShilalekh

१ भाद्र २०८१, शनिबार २२:३६

सिमराः पचरौता नगरपालिकामा आधुनिक प्रविधिसहितको दन्त अस्पताल तथा फिजियोथेरापी सेवा शुभारम्भ गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले दन्त अस्पताल र फिजियोथेरापीको शुभारम्भ गरेका हुन् ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएका नगर प्रमुख सिंहले उद्घाटन समारोहलाई सम्बोधन गर्दै आधुनिक प्रविधिसहित दक्ष विशेषज्ञबाट उक्त सेवा प्रदान गरिने जानकारी दिए । पचरौताबासीलाई स्वास्थ्य सेवा सहज बनाउने उदेश्यसहित आफूले दन्त र फिजियोथेरापी सेवा शुभारम्भ गरेको नगर प्रमुख सिंहले बताए ।

उक्त सेवा सुरु भएसंगै दन्त र फिजियोथेरापीका लागि अब पचरौताका स्थानीयले अन्यत्र धाउनुपर्ने बाध्यताबाट राहत पाएका छन् । उक्त सेवा नहुँदा कलैया, वीरगन्ज पुग्नुपर्ने बाध्यता स्थानीयमा थियो । सिंहले सुविधा सम्पन्न अस्पताल, सिचाईकालागि जमुनी नदीको कच्ची बाँध निर्माण, शिक्षा, खानेपानी, सामूहिक विवाहको आयोजनालगायतका योजनालाई प्रभावकारी ढंगले अघि बढाउने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख नसिमा खातुन, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्का, नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, वडा नं. ५ का वडाध्यक्ष मकबुल मियाँ अंसारी, वडा नं. ८ का वडाध्यक्ष प्रेमकुमार चौधरी, वडा नं. ९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव, सुरेश यादवलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण वडा नं. ५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादवले गरेका थिए । कार्यक्रममा नेकपा एमाले बाराका उपाध्यक्ष भुलन चौधरी, वडा नं. ७ का वडाध्यक्ष बनारसी बिन, शिक्षा शाखा प्रमुख पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेशकुमार सिंहलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्