‘सरसफाइमा ध्यान नदिदाँ हैजासंक्रमणको सम्भावना धेरै हुन्छ’


eShilalekh

२ भाद्र २०८१, आईतवार १२:३९

गर्मी तथा वर्षायाममा विभिन्न रोग तथा संक्रमणको जोखिम बढ्ने गरेको छ । मौसम परिवर्तनले गर्दा अस्पतालमा रुघा, खोकी, ज्वरोका बिरामीहरुको संख्या दिनहुँ बढ्ने गर्दछन् । यतिबेला देशभर हैजा तथा अन्य प्रकारका झाडापखालाको प्रकोप देखिएको छ । काठमाण्डौलगायत देशका चार जिल्लामा अहिले हैजाको संक्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ५५ जनामा हैजा देखिएको छ । बर्षायाममा दुषित पानीको प्रयोग, बासी र नपकाएको खानेकुरा खाँदा हैजा संक्रमण हुने चिकित्सकको भनाई छ । भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण हैजाको संक्रमण हुन्छ । हैजाको संक्रमण फैलन नदिन र यो संक्रमणबाट जोगिन के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा जीतपुरसिमरा नगर अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. प्रकाश साहसंग निलिसा वर्माले गरेको कुराकानीः

हैजा के हो? के कारणले हुन्छ?

हैजा भनेको भिब्रियो कोरेला नामक ब्याक्टेरियाबाट सर्ने रोग हो । खासगरी फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको ब्याक्टेरिया पाइन्छ । खास गरेर बर्षायाममा खानेपानी दुषित् हुन्छ र त्यही पानी हामीले खाना पकाउँदा, तरकारी पखाल्दा, हातमुख धुदा प्रयोग गर्छौ । पानी र खानेकुरालाई माध्यम बनाई हैजाको ब्याकटेरिया हाम्रो शरीर भित्र प्रवेश गर्छ र सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) र पानीलाई कोषिका बाहिर आन्द्रामा फालिदिन्छ । जुन चौलानी पानी जस्तो पातलो दिसाको रुपमा शरीर बाहिर जान्छ र शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमी हुन्छ । जसलाई हामी डिहाइड्रेसन भन्छौ ।

लक्षणहरू केके हुन् ?

हैजाको मुख्य लक्षण पखाला लाग्नु र सेतो पातलो दिसा हुनु हो । त्यो संगसंगै वाकवाकी लाग्ने र वान्ता हुने, जलवियोजन (डिहाइड्रेसन), सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु, मुटुको ढुकढुकी बढ्ने, बेचैनी वा चिडचिडापन हुने जस्ता लक्षण पनि देखिन्छ । सामन्यतया पेट दुख्ने र ज्वरो आउने भने हुँदैन ।

हैजा सरुवा हो कि होईन् ?

हैजा पानीजन्य सरुवा रोग हो र यो दुषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । परिवारमा कुनै एक संक्रमित छ भने अन्य सदस्यलाई सर्ने सम्भावना बढी हुन्छ तर संक्रमित व्यक्तिले आफ्नो सरसफाइमा विशेष ध्यान दियो भने अर्को व्यक्तिमा सर्दैन । संक्रमित व्यक्तिले शौचालय प्रयोग पश्चात् हात राम्ररी सफा गरेन भने उसले छोएको खानेकुरा, लुगा, पानीले अन्य व्यक्तिमा सर्न सक्छ । प्रयोग गरेको शौचालय सफा नगरी प्रयोग गर्दा सर्न सक्छ । त्यसैले वातावरण तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दियो भने सर्ने सम्भावना कम हुन्छ ।

कुन उमेर समुहका व्यक्तिलाई बढी प्रभाव पार्छ ?

हैजाको लागी उमेर समूह भन्ने हुँदैन । दुई बर्ष भन्दा माथिका सबै व्यक्तिमा यो संक्रमण देखिन सक्छ । सबैमा देखा पर्ने लक्षण पनि एउटै हो । यदि कसैको रोग संग लड्ने क्षमता बढी छ भने ढिलो देखिन सक्छ तर यसको लक्षण सबै उमेर समूहका व्यक्तिमा समान देखिन्छ ।

रोकथामका उपायहरु के–के छन् ?

फोहोर मैलाको उचित व्यवस्थापन, दिसापिसाब शौचालयमा मात्र गर्ने, शौचालय प्रयोग गरेपछि र खाना खानु अघि साबुन पानीले राम्ररी हात धुने, हरियो सागसब्जी तथा फलफूल राम्ररी पखालेर मात्र खाने, पानी उमालेर पिउने आदि गर्नाले हैजाको संक्रमणबाट बच्न सकिन्छ । सरसफाईमा बिशेष ध्यान पुर्याउनु पर्छ । संक्रमित व्यक्तिले जीवनजल, फलफूल बढी मात्रामा खानुपर्छ । समयमै उपचार नगर्दा संक्रमितको ज्यान जान सक्ने सम्भावना भएकाले चिकित्सकको सुझाव अनुसार उपचार पद्धती अपनाउनुपर्छ ।

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्र भित्र अहिले सम्म हैजाको बिरामी फेला परेका छ कि छैन् ?

हैजा नै हो भनेर पुष्टि भईसकेको छैन तर यो रोगसंग मिल्दो जुल्दो लक्षणका बिरामीहरु छन् । लक्षण देखिएका बिरामी आउँदा सर्वप्रथम बिरामीको सोडियम पोटासियम भन्ने तत्व जाँच गर्छौ । डिहाईड्रेसन, सेतो रगतको मात्रा, दिशाको जाँच गरेपश्चात मात्र संक्रमण हो कि होइन् पुष्टि हुन्छ । बिरामीको अवस्था हेरेर स्लाईन पानी दिने, ईन्जेक्सन लगाउने, आवश्यक एन्टिबायोटिक प्रयोग गर्ने भन्ने रिपोर्टको आधारमा उपचार गरिन्छ ।

समुदायमा हैजा फैलिनबाट रोक्न के–कस्ता उपाय अपनाउन सकिन्छ ?

आफ्नो घर र घर वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने । विशेष गरी शौचालय प्रयोग गरेपछि र खाना खानु अघि र पछि साबुनपानीले हात धुनुपर्छ । त्यस्तै पिउने पानीलाई उमालेर तथा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । राम्ररी पकाएको तातो खाना खानुपर्छ । सकेसम्म बाहिर सडकमा बेच्ने खानेकुराहरु जस्तै पानीपुरी, चटपटे इत्यादि नखाने र काँचो फलफूल तथा तरकारीहरु खानुभन्दा अगाडी त्यसलाई राम्ररी पखालेर मात्र खानुपर्ने हुन्छ । फोहोर, दिसा, पिसाबको राम्ररी व्यवस्थापन गर्ने र पानीको मुहान छेउमा फोहोर नगर्ने जस्ता बिषयमा एकदमै ध्यान दिनुपर्ने आवश्यक छ । साथै यस रोग सम्बन्धी र सरसफाई सम्बन्धी जनचेतना फैलाउँदा झनै प्रभावकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्