खाद्य निरीक्षक बन्न चाहन्छन् रोनप


बिनिता खत्री

२ भाद्र २०८१, आईतवार १२:४८

सिमराः साना बालबालिकालाई ठूलो भएपछि के बन्न चाहनुहुन्छ भनेर प्रश्न गर्दा धेरै जसो आउने जवाफ हो, डाक्टर, पाइलट, नर्स, इन्जिनियर, वकिल । साना बालबालिकाबाट आउने प्रायः जवाफ यिनै हुन् । तर जीतपुरसिमरा उपमहानगरपालिका २ घर भएका आठ वर्षीय रोनप थापाको चाहना भने विल्कुल फरक छ । सिमरास्थित एकता स्कुलमा कक्षा ५ मा पढ्ने रोनप खाद्य निरीक्षक बन्न चाहन्छन् ।

रोनपको ठूलो भएर मानिसले दैनिक उपभोग गर्ने बजारका खाद्य सामाग्री जाँच गर्ने निरीक्षक बन्ने चाहना छ । बजारमा बेच्न राखिएको खानेकुरा जाँच नगरी खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै रोनप त्यस्ता खानेकुरा जाँच गर्न चाहन्छन् ।

रोनप यसै विषयलाई लिएर निर्माण भएको दक्षिण भारतीय चलचित्रबाट प्रभावित भएका रहेछन् । त्यही चलचित्र हेरेपछि आफूलाई खाद्य जाँच गर्ने निरीक्षक बन्न मन लागेको रोनपले बताए । तर उनले यो कुरा घरमा भनेका छैनन् ।

रोनप बुवा रनेश थापा र आमा लक्ष्मी थापाको दोस्रो सन्तान हुन् । रोनपको दाइ पनि एकतामै कक्षा ८ मा पढ्छन् । रोनप सामान्य परिवारका विद्यार्थी हुन् । उनको बुवा रनेश जीतपुरस्थित एक उद्योगमा कार्यरत छन् । आमा लक्ष्मी भने गृहिणी छिन् ।
रोनप पढाइलेखाइमा निकै अब्बल छन् । विद्यालयको राम्रो र मिहेनती विद्यार्थीमध्ये एक हुन् रोनप । धेरै समय स्कुलमा बस्न मन पराउने रोनपलाई साथीहरुसंग बसेर गृहकार्य गर्न र खेल्न रमाईलो लाग्ने लाग्छ । उनलाई गाह्रो लाग्ने विषय गणित र सजिलो लाग्ने विषय सामाजिक हो ।

आफू विद्यालय नआएको दिन पढाइएको कुरा बताईदिने भएकाले उनलाई संगै पढ्ने आयुश मनपर्छ । रोनप आयुशको मिल्ने साथी हुन् । उनि फूटबल खेल्न रुचाउँछन् । विद्यालयको अब्बल छात्रमध्येका एक रोनप सबै शिक्षक आफ्नो लागि समान रहेको र शिक्षकहरुकै कारण आफूहरुले धेरै कुरा सिकिरहेको बताउँछन् ।

परिवारको सबै सदस्यको बराबरी माया लाग्ने भएपनि आफ्नो आमाको माया अझै बढी लाग्ने रोनप बताउँछन् । आफूले कहिले काँही गल्ती गरिहाले आमाले बुवासंग लुकाईदिने, बुवाले पिट्न खोज्दा छेक्न आउने, बाहिर गएका बेला खानेकुरा ल्याईदिने भएका कारण उनलाई आमाको माया बढी लाग्ने रहेछ ।

घरमा अभिभावकले राम्रोसंग पढ्नका लागि सुझाव दिने गरेको बताउँदै रोनपले आफू पनि मेहनत गरेर पढाईं गरिहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्