यती एयरले पायो हवाई सुरक्षाको आईएसएसए प्रमाणपत्र, सिमरा–काठमाडौं रुटमा विमान थप हुँदै


eShilalekh

७ भाद्र २०८१, शुक्रबार १६:५८

सिमराः निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)’ को ‘स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट (आईएसएसए)’ कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गर्ने गरिन्छ ।

आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नुपूर्व वायुसेवा सञ्चालकको सुरक्षा व्यवस्थापन प्रणाली सुक्ष्म ढंगले मूल्यांकन र विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन भएनभएको हेर्ने गर्छ । सो मापदण्ड पूरा गरेका कारण यतिलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।

आईएसएसए प्रमाणपत्रले थप जिम्मेवार बनाएको जनाउँदै यति व्यवस्थापनले व्यापार विस्तार क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रको सन्तुष्टि कायम राख्न प्रतिबद्ध हुने जनाएको छ । त्यसैले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्ड पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा लगानी गरेको यति व्यवस्थापनको भनाई छ ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्रले खुशी थप्नुका साथै थप जिम्मेवार बनाएको बताए । उनले हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने प्रयासमा महत्त्वपूर्ण उपलब्धिका रुपमा आईएसएसए प्रमाणपत्रलाई लिएको सापकोटाको भनाई छ ।

यता सिमरा–काठमाडौं रुटमा यति एयरलाइन्सले एउटा उडान थप गर्ने तयारी गरिरहेको छ । सिमरा विमानस्थलबाट दुईवटा उडान गर्दै आएको यति एअरलाईन्सले एउटा उडान थप गर्ने तयारी गरिरहेको हो ।

एअरलाइन्सको सिमरास्थित कार्यालय प्रमुख दामोदर तिवारीले दशैं अगाडि एटिआर ७२ को अर्को एउटा उडान थप हुने जानकारी दिए । यसअघि पनि एटिआर ७२ का दुई विमानले सेवा दिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्