भण्डारीको ‘बोरा’ ले पायो ५० हजार राशिको भाषा तथा साहित्य पुरस्कार


eShilalekh

१० भाद्र २०८१, सोमबार १३:३५

सिमराः पत्रकार अखण्ड भण्डारीद्धारा लिखित ‘बोरा’ले यस वर्षको लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार पाउने भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को पुरस्कार छनौट समितिले राष्ट्रिय स्तरको उक्त पुरस्कारबाट भण्डारीद्धारा लिखित बोरालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

देशभरबाट छनौट भएका उत्कृष्ट १० कृतिमध्येबाट बोरालाई पुरस्कृत गर्ने निर्णय भएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिएका छन् । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ ।

लामो समयदेखि नेपालको पत्रकारितामा सक्रिय रहदै आएका भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुन् । भण्डारीले गत चैत ३० गते उपन्यास ‘बोरा’ सार्वजनिक गरेका थिए ।

यसैगरी परिषद्ले ५० हजार राशिको साहित्यिक सहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार २०८१ बाट रोचक घिमिरे र २५ हजार राशिको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कारबाट पत्रकार शंकर श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

परिषद्ले मङ्सिर १५ गते लालबन्दीमा कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । परिषद्ले राष्ट्रिय तथा स्थानीय प्रतिभालाई प्रोत्साहित गर्न हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्