सिमरामा एक लाख पुरस्कार राशिको ‘क्रियटिभ जीतपुरसिमरा भेट्रान कप’ हुने


eShilalekh

१२ भाद्र २०८१, बुधबार १६:३३

सिमराः बाराको सिमरामा कार्तिक पहिलो सातादेखि प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रानन कप फूटबल प्रतियोगिता हुने भएको छ । नव जनजागृति भेट्रान क्लबले कार्तिक ६ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका २० टिमले सहभागिता जनाउनेछन् । कार्तिक १० गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभागिय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगन्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने संयोजक एवम् क्लबका सचिव राम पाठकले जानकारी दिए । यसैगरी भारतको पटनास्थित भेट्रान टिमले सहभागिता जनाउन इच्छुक देखाएको हुँदा समन्वय भईरहेको पाठकले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई कलैयास्थित क्रियटिभ वल्र्ड डिजिटल प्रा.लिले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजक क्लब र क्रियटिभ वल्र्ड डिजिटलबीच प्रतियोगितामा सहकार्य गर्ने गरी सम्झौता समेत भएको छ । सम्झौतापत्रमा क्रियटिभ वल्र्डका अध्यक्ष कमलबाबु चौधरी र प्रतियोगिता संयोजक पाठकले हस्ताक्षर गरेका छन् ।

क्लबले यसअघि प्रतियोगिताको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक डिजिटल वल्र्डका अध्यक्ष चौधरीले भेट्रान प्रतियोगितामा सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले भेट्रान फूटबललाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए । ४० वर्ष पूरा गरेका व्यक्तिले खेल्ने यस खेलले समाजको हरेक पक्षलाई फाइदा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताएका छन् । स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्न जरुरी रहेको वडाध्यक्षको भनाई थियो ।

कार्यक्रममा मधेस प्रदेश फूटबल संघका कोषाध्यक्ष एवम् नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले खेलकुदको गतिविधिले सिमरा रंगशालालाई पूर्णता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदका गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको ठकुरीको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी जीतपुरसिमरा १ का वडा सदस्य अमन लामा, जीतपुरसिमरा वडा नं. ७ का वडासदस्य नविन मैनाली, कराँते प्रशिक्षक सानु पटेल, सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेन, हिरा बस्नेत, नव जनजागृति युवा क्लबका सदस्य निरोज पुडासैनी, क्लबका पदाधिकारी, सदस्यलगायत उपस्थित थिए ।

प्रतियोगिताका संयोजक पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संचारकर्मी एसएस पटेलले गरेका थिए । कार्यक्रममा क्लबका संरक्षक दीपक भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्