सिमरामा सर्वाधिक राशिको अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण हुँदै


eShilalekh

१५ भाद्र २०८१, शनिबार १५:४२

सिमराः देशकै सर्वाधिक राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण असोज पहिलो साता हुने भएको छ । सिमरा भेट्रान क्लबले असोज १ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

असोज ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने उक्त प्रथम नगद पुरस्कार देशभरीमै आयोजना हुने भेट्रान फूटबल प्रतियोगितामध्येकै सर्वाधिक रहेको आयोजकको जनाएको छ ।

आयोजकले गत वर्षको पुरस्कार राशिमा एक लाख थप गर्दै तीन लाख पुर्याएको हो । अघिल्लो वर्ष विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको थियो ।

आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले देशभरीकै सर्वाधिक राशिको नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सिमरास्थित होटल सिमरा प्याराडाइजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता रहने जानकारी दिए ।

आयोजक क्लबका अनुसार प्रतियोगितामा युनिटी क्लब वीरगन्ज, हेटौंडा भेट्रान क्लब, चितवन भेट्रान फूटबल क्लब, सरस्वती नगर भेट्रान काठमाडौं, हाम्रो धरान फूटबल क्लब, कटारी टाईगर भेट्रान क्लब, पोखरा भेट्रान क्लब, रियल फ्रेण्ड भेट्रान सिक्किम, लेजेण्ड्स भेट्रान दार्जलिङ, क्लिभ हाउस भेट्रान कलकत्ता र आयोजकको सहभागिता रहनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई हुलास स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ भने सहप्रायोजकमा जगदम्बा स्टील्स् नेपाल ल्यूब आयल, नविल बैंक सिमरा, प्रभु बैंक सिमरा, युआर गोल्ड प्रिमियम मसला रहेका छन् । प्रतियोगितालाई जीतपुरसिमराका सबै वडा र क्वेस्ट फर्मास्युटिकल्सले सहयोग गर्ने समेत अध्यक्ष राउतले जनाएका छन् ।

सिमरा रंगशालामा आयोजना हुने प्रतियोगिताको मेडिकल पार्टनरमा एभरग्रिन तराई अस्पताल, एलएस न्यूरो, सुसप्त मेडिकल रहेका छन् भने इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । पत्रकार सम्मेलनमा आयोजक क्लबका हरि चौधरी, विनोद परियार, राजु तिमिल्सिना, विशाल घिमिरेलगायत उपस्थित भएका थिए ।

सिमरा भेट्रानले नियमितरुपमा भेट्रान फूटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो संस्करण नवलपरासी भेट्रान, दोस्रो संस्करण मोरङ भेट्रान र तेस्रो संस्करण फ्रिडम फाईटर काठमाडौंले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्