किरण आँखा अस्पतालको सेवा अब सिमरामै


eShilalekh

१५ भाद्र २०८१, शनिबार १८:४९

सिमराः वीरगन्जस्थित किरण आँखा अस्पतालले आफ्नो सेवा बाराको सिमरामा समेत विस्तार गरेको छ । सिमरास्थित सूर्य नेपाल अगाडि अस्पतालले सुविधासम्पन्न क्लिनिक संचालनमा ल्याएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शनिबार क्लिनिकको शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी उपचार सेवा प्रदान गर्न आग्रह गरे ।

जीतपुरसिमरामा पछिल्लो समय स्वास्थ्य संस्था र दक्ष चिकित्सकको संख्या बढ्दै गएको बताउँदै नगर प्रमुख पौडेलले उपचारकै लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट हट्दै गएको बताए । पौडेलले जीतपुरसिमरामा स्वास्थ्य सेवालाई अझै प्रभावकारी र सहज बनाउन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा स्थानीय मुकुन्दबहादुर क्षेत्रीले दक्ष चिकित्सकले उपचार गर्ने गरी आँखा उपचार क्लिनिकको शुभारम्भ भएको बताउँदै सर्वसाधारणको विश्वास जितेर अघि बढ्न अनुरोध गरे ।

अस्पतालका संचालक एवम् डा. अमर केयालले सर्वसाधारणकै सहजताका लागि सेवा केन्द्र विस्तार गरिएको बताए । यस क्षेत्रबाट उपचारका लागि धेरै नागरिक पुग्ने गरेको बताउँदै डा. केयालले सबैलाई अझ पायक हुने गरी क्लिनिक स्थापना गरिएको बताए । डा. केयालले वीरगन्जमै उपचार गर्ने दक्ष चिकित्सककै उपस्थितीमा सिमराबाट सेवा संचालन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्