लेखक बन्न चाहन्छिन् गरिमा


बिनिता खत्री

१६ भाद्र २०८१, आईतवार १३:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ की १४ वर्षीया गरिमा ढकाल औराहस्थित सेन्ट अल्फोन्सास स्कुलमा कक्षा ९मा अध्ययनरत छिन् । बुवा शंकर र आमा सबिताकी तीन सन्तानमध्ये गरिमा जेठो सन्तान सन्तान हुन् । गरिमाको एक बहिनी महिमा र एक भाई गौरव छन् । उनकी बहिनी महिमा पनि सोही विद्यालयमा पढ्छिन् । उनको बुवा जीतपुरसिमरा वडा ३ स्थित विद्यालयमा अध्यापन गराउँछन् भने आमा गृहणी छिन् ।

शान्तमय परिवारमा हुर्केकी गरिमा पढाई लेखाईमा अब्बल छिन् । विदाको समयमा गरिमा कविता लेख्न रुचाउछिन् । उनको भविष्यमा लेखक बन्ने सोच छ । सानै उमेरबाट लेख्न रुची भएको कारण लेखक बन्ने ईच्छा रहेको गरिमा बताउँछिन् । आफ्नो लक्ष्यमा आमाबाबा बाधक नबन्नेमा उनि ढुक्क छिन् । परिवारमा पनि उसले ठुलो भएर जे बन्ने ईच्छा गरेकी छिन् त्यसैमा साथ दिने बताउँछन् ।

विद्यालयको राम्रो विद्यार्थी मध्ये एक हुन् गरिमा । धेरै समय स्कुलमा बस्न मन पराउने गरिमालाई साथीहरुसंग बसेर गृहकार्य गर्न र विभिन्न खेलहरु खेल्न रमाईलो लाग्छ । सबै बिषय सजिलो लाग्ने भएपनि उनलाई मन पर्ने विषय भनेको अंग्रेजी हो । गणित भने उनलाई अलि गाह्रो लाग्छ । गणित विषयमा उनि अझै बढी ध्यान दिएर पढ्ने गरेकी छिन् ।

उनलाई साथीहरुमध्ये मेरिसा बस्नेत औधी मनपर्छ । पढाईमा दुवैजनाबीच तालमेल मिल्छ उनि विद्यालयमा हुने क्रियाकलापमा चासोका साथ सहभागिता जनाउछिन् । उनलाई बास्केटबल खेल अत्यन्तै मनपर्छ । मासुको परिकार खान रुचाउने उनलाई करेलाको तरकारी भने मनपर्दैन । घरमा उनि आफ्नो भाइलाई धेरै माया गर्छिन् ।

शान्त स्वभावकी गरिमा अभिभावक, शिक्षक, अग्रजले भनेको कुरा ध्यान दिएर सुन्छिन् । उनको स्वभावका कारण सबैले उनको प्रशंसा पनि गर्छन् । अभिभावक पनि गरिमाको स्वभाव, पढाईबाट खुशी छन् ।

भविष्यमा लेखक बन्ने इच्छा गरेकी गरिमालाई उनले भनेअनुसारनै साथ दिने बताउँछन् बुवा शंकर ढकाल । घुम्न र लेख्न रुचाउने उनको स्वभावलाई आफूहरुले सम्मान गर्ने बुवा शंकरको भनाई छ । आफ्नो भविष्यको बारेमा बच्चालाई आफै सोच्न दिनुपर्ने बताउँदै शंकरले राम्रो शिक्षा र सही मार्गमा डोहो¥याउने काम अभिभावकले गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्