मोबाइल व्यवसायमा मोहनको सफलता


बिनिता खत्री

१६ भाद्र २०८१, आईतवार १३:१७

सिमराः सिमराको सबैभन्दा पुरानो मोबाइल पसल हो सुरक्षा इन्टरप्राईजेज । यो पसल झण्डै दुई दशकदेखि सिमरामा संचालित छ । निरन्तर मोबाइलको कारोबार गर्दै आएको सुरक्षा इन्टरप्राईजेजले दुई दशकको इतिहास मात्रै बनाएको छैन, यसले ग्राहकको विश्वास पनि उत्तिकै जितेको छ ।

त्यसैले पनि होला सुरक्षा इन्टरप्राईजेजका संचालक मोहन कार्की आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । उनको १९ वर्षअघि सिक्किमबाट बारा आएर मोबाइल व्यवसाय संचालन गर्ने निर्णय सहि सावित हुन पुगेको छ । उनि अहिले मोबाइल व्यवसायी मात्रै होईनन् यस व्यवसायमा आवद्ध व्यवसायीको हकहितका लागि लड्ने अभियन्ता समेत हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ हुलास घर भएका कार्की दोलखामा जन्मिएपनि उनको बाल्यकाल भने भारतको सिक्किममा वितेको थियो । उनले कक्षा १२ सम्मको अध्ययन पनि सिक्किममै पूरा गरेका थिए । सिक्किममा तरकारीको व्यवसाय गर्दै आएका उनका बुवाले एक वर्षको उमेरमै परिवारका सबै सदस्यलाई उतै लगेका थिए । कार्कीसंगै उनको आमा, दाई बारा छोडेर सिक्किम पुगे ।

कार्की र उनको दाईको बाल्यकाल उतै वित्यो । कक्षा १२ सम्मको पढाई पनि उतै पूरा भयो । पढाई सकिएपछि कार्कीले व्यवसाय गर्ने सोच बनाए । तर के व्यवसाय गर्ने भन्ने दुविधा उनमा देखियो । उनलाई सिक्किममा भन्दा पनि नेपाल आएर व्यवसाय गर्ने मन थियो । मोबाइलसम्बन्धी ज्ञान बटुलेका कार्कीलाई मोबाइलकै कारोबार गर्न मन थियो । उनि नेपाल फर्किएर त्यसपनि पनि सिमरामै आएर व्यवसाय सुरु गर्न चाहन्थे । उनले आफ्नो चाहना बुवासामू राखे । उनको चाहनालाई बुवाले समेत सकारात्मक रुपमा लिए । त्यसपछि सुरु भयो कार्कीले नेपाल यात्रा ।

२२ वर्षको उमेरमा नेपाल आएका कार्कीले देशकै राजधानी काठमाडौंमा समेत मोबाइलको कारोवार गर्न सक्थे । तर उनले सिमरामै मोबाइल पसल संचालन गर्ने चाहना राखे । उतिबेला सिमरा शहरको रुपमा विकसित भईसकेको थिएन । अहिले पनि शहरोन्मुख नै छ । त्यतिबेला आर्थिकरुपमा सम्पन्न भएका व्यक्तिले मात्रै मोबाइल किन्ने गरेका थिए । त्यसमा पनि सीमावर्ती शहर रक्सौलमा गएर किन्दा सस्तो पर्ने भएपछि सबै उतैतिर पुग्ने गरेका थिए ।

त्यस्तो अवस्थामा मोबाइल पसल संचालन गर्ने कार्कीको निर्णय अत्यन्तै चुनौतीपूर्ण थियो । तर उनले अहिले नभए पछि हुन्छ भन्ने सोच बनाए र सिमरामै सुरु गरे सुरक्षा ईन्टरप्राईजेज ।

‘त्यो समयमा सिमरा यस्तो विकसित भई सकेको थिएन । व्यवसायहरु पनि धेरै थिएनन् । मोबाइल किन्नका लागि रक्सौलनै पुग्नुपर्छ भन्ने सोच मानिसमा थियो । खुला सीमाको मार त्यतिबेला देखिनै खेपिरहेका थियौ’ कार्कीेले विगत सम्झिदै भने ‘तर पनि चुनौतीको सामना गर्दै व्यवसायलाई निरन्तरता दिँदै आए । अहिले सबैको विश्वास जित्न सफल भएको छु ।’

कार्कीले पाँच लाखबाट सुरु गरेको व्यवसाय अहिले करोडौंको छ । उनले सिमरामा व्यवस्थित पसल संचालन गरिरहेका छन् । उनको पसलमा केही स्थानीय युवाले समेत रोजगारी पाएका छन् । कार्कीले यो १९ वर्षे यात्रामा निकै चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए ।

‘मानिसहरु गुणस्तरीय सामानको खोजिमा हुन्छन् । हामीले हाम्रो ग्राहकहरुलाई गुणस्तरीय सामानहरु दिँदै आएका छौं’ कार्कीले भने ‘तर पनि बिक्री गरिएका मोबाइल फोनका पार्टस् सहजै प्राप्त हुन नसकेर पुराना मोबाइल फ्याँक्नुपर्ने अवस्था आउने, कम्पनीले पर्याप्त मात्रामा मोबाइल रिपेरिङ तथा सर्भिसिङ सेन्टरको व्यवस्था नगर्ने, मुख्य डिलरसँग सामान लिन असहज हुने, अवैध ओसारपसार भइरहेका मोबाइल फोनलाई बन्देज नलगाउने, सरकारी निर्णयको कार्यान्वयन नहुने जस्ता समस्याहरु मोबाईल व्यवसायीहरुले भोग्नु परिरहेको छ ।’

मोबाइल व्यवसायसंगै कार्कीले अहिले व्यवसायीको हकहितका लागि नेतृत्व समेत गर्दै आएका छन् । पछिल्लो समय मोबाइल व्यवसायीले भोग्नुपरेको सास्ती, व्यवसायमा आएको समस्याबाट व्यवसायीहरु निराश बन्नुपरेको उनको भनाई छ । कराडौं लगानी गरेपनि आम्दानी हुन नसक्दा व्यवसाय नै धरासायी बन्दै गरेको कार्कीले बताए । केही व्यवसायीहरु पलायन समेत हुनुपरेको अवस्था कार्कीले सुनाए । यस व्यवसायमा लगानी मात्रै नभएर दक्ष जनशक्तिको आवश्यकता पर्ने हुँदा दक्ष जनशक्ति अभावले समेत समस्या पर्ने गरेको उनको अनुभव छ ।

‘राम्रो र दक्ष कर्मचारीको आवश्यकता बढी हुन्छ । व्यवसाय सुरु गर्दा आफूमा पनि व्यवसाय सम्बन्धी प्राविधिक ज्ञान हुनुपर्छ । कर्मचारी राख्दा दक्ष राखिनुपर्छ’ कार्कीले भने ‘हामीले यस व्यवसायमा दक्ष कर्मचारीको अभाव सधैं महसुस गरिरहेका हुन्छौ । तर पनि आफ्नो ज्ञानले भ्याएसम्म ग्राहक सन्तुष्ट हुने गरी सेवा गरिरहेका छौं । ग्राहकको विश्वास नजितेसम्म मोबाइल व्यवसाय टिकाउन नसकिने र धरासायी हुँदै जान्छ ।’

उनका अनुसार मोबाइल व्यवसाय धरायसी हुन नदिन गुणस्तरीय सामान विक्री गर्ने, विश्वसनीय सेवा प्रदान गरि ग्राहकलाई सन्तुष्ट बनाउने, प्रभावकारी ढङ्गले ग्राहकको समस्या समाधान गर्ने, बजारको माग अनुसार समान बिक्रि गर्ने, डिजिटल मार्केटिङ गर्ने, सामाजिक संजाल प्रयोग गर्ने, नयाँ मोडलका समान राख्ने, ग्राहकको प्रतिक्रियामा ध्यान दिने, समान अनुसार प्रतिस्पर्धी मूल्य निर्धारण गर्ने गरेमा व्यवसाय धरायसी हुनबाट जोगाउन सकिन्छ ।

जति सुकै समस्या, चुनौति आएपनि एउटै व्यवसायमा निर्भर भएर अघि बढ्ने व्यवसायीहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्ने कार्कीको तर्क छ । स्थानीय तहले गर्ने विभिन्न किसिमको प्रविधिक तालिम लक्षित वर्गसम्म पुगेका हुँदैनन् । यस व्यवसायमा आवद्ध रहेका व्यवसायीलाई उक्त तालिमबारे जानकारी समेत हुँदैन । त्यसैले प्राविधिक तालिम आयोजना गर्दा मुख्य रुपमा प्रचार प्रसार बढी गर्ने, व्यवसायहरुलाई नयाँ प्रविधि ग्राहकहरुको सेवा जस्ता विषयमा ज्ञान दिने, व्यवसायलाई आवश्यक पर्ने पुजी प्रदान गर्ने, व्यवसाय सुरु गर्ने वातावरण सिर्जना गर्ने, स्थानीय बजारमा व्यवसाय गर्न सहजीकरण गरिदिने, साना व्यवसायीलाई प्रोत्साहन गर्ने, करमा छुट वा अनुदानको व्यवस्था गर्ने, भन्सार छलिका सामान भित्रिन नदिने, व्यवसायीबीच नेटवर्किङको अवसर प्रदान गर्ने, डिजिटल मार्केटिङमा सहयोग गर्ने, व्यवसायीलाई डिजिटल मार्केटिङमा सहायता प्रदान गर्न कार्यक्रम संचालन गर्ने, अनलाइन व्यवसायको तालिम दिने, व्यवसायीको हकहितका लागि नीति निर्माण गर्ने जस्ता सहयोग स्थानीय तहले गरिदिए देशका युवाहरु पनि विदेश पलायन हुन नपर्ने कार्की बताउँछन् ।

स्थानीय सरकारले सहयोग गरे व्यवसाय सुरु गर्ने ईच्छा भएका व्यक्तिहरुलाई प्रोत्साहन मिल्ने, थोरै लगानीमा पनि व्यवसाय सुरु गर्ने हौसला प्राप्त हुने हुँदा यस्ता सहयोग स्थानीय तहले गरेमा देशमै आत्मनिर्भर भएर बस्ने वातावरण बन्ने कार्कीले बताए । कार्कीका अनुसार हाल सिमरामा झण्डै दुई सय वटा मोबाइल पसल छन् ।

मोबाइल व्यवसायी महासंघमा आवद्ध भई सङगठनमा आउनेको संख्या करिब दुई सय छ । मोबाइल व्यवसायी महासंघले गर्ने काम र उदेश्य बुझाई व्यवसायीलाई यस संस्थामा संगठित गर्दै लैजाने काम भईरहेको कार्कीले बताए ।

मोबाइल व्यवसायी महासंघको मधेस प्रदेश अध्यक्ष समेत रहेका कार्की मोबाइल व्यवसायीको हित र व्यवसायको संरक्षणका लागि काम गर्दै आएका छन् । उनकै नेतृत्वमा अहिले मधेसका अधिकांश जिल्लामा मोबाइल व्यवसायी संघ गठन भईसकेको छ भने पालिका स्तरीय संरचना समेत बनिरहेको छ । मोबाइल व्यवसायीलाई संगठित गर्दैै एउटै अभियानमा अघि बढाउने प्रयास गरिहेका कार्की युवा पुस्ताका लागि उर्जाको स्रोत हुन् ।

उनकै नेतृत्वमा अहिले व्यवसायी संगठित मात्रै भएका छैनन् एकआपसमा सहयोग गर्ने, अधिकारका लागि एकीकृत हुने गरिरहेका छन् । साथै संघकै नेतृत्वमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभिन्न सिपमुलक तालिमका आयोजना समेत भईरहेका छन् ।

आफ्नो व्यवसायलाई निरन्तरता दिदै अन्य व्यवसायीको हकहितका लागि लडिरहेका कार्की खुशी देखिन्छन् । सानो पूँजीबाट सुरु गरेको व्यवसायमा अहिले करोडौंको लागत भएकाले चुनौती पनि उत्तिकै बढ्दै गएको उनि बताउँछन् । कार्कीलाई उनको व्यवसायमा उनकी पत्नीले साथ दिएकी छिन् । महासंघको काममा व्यस्त हुँदा उनको व्यवसाय पत्नीले सम्हाल्ने गरेकी छिन् । कार्कीको एक १७ वर्षीया छोरी र सात वर्षीय छोरासहित घरमा सात जना परिवारका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्