साना किसान मनहर्वाः ऋण लिने समूहदेखि ऋण दिने सहकारीसम्मको दुई दशक
सिमराः वि.सं.२०६० साल पौष १३ गते साना किसान सहकारी संस्थाको विधिवत रुपमा स्थापना भएको होे । २०४६ सालमा कृषि विकास बैंकको साना किसान विकास आयोजना भोडहा गाविसद्वारा मनहर्वामा समूह बनाएर साना किसान कार्यक्रम संचालनमा ल्याएको थियो । एउटा समूहमा पाँचदेखि सात जना सदस्य थिए । दैनिक एक रुपैयाँको दरले बचत गर्ने बानिको विकास गराईयो र एकजना बराबर मासिक ३० रुपैया बचत संकलन सुरु भयो ।
विस्तारै समूहको संख्या र बचत बढ्दै गयो । सबै समूहको नेतृत्व कृषि विकास बैंकले नै गथ्र्यो । साविक मनहर्वा गाविसका किसानहरुका लागि सहज कृषि कर्जा प्रदान गर्न र बचत गर्ने बानीको विकास गर्नकालागि सहकारीको आवश्यकता देखियो र २०६० सालमा आफ्नै गाउँले बैंकका रुपमा साना किसान सहकारी संस्थाको स्थापना भयो र फाल्गुण महिनामा बैंकद्वारा समुदायलाई हस्तान्तरण गरियो ।
वि.सं. २०६० साल ताका माओवादीको जनयुद्ध उत्कर्समा थियो । अन्यत्र बैंक तथा सहकारीहरु जलाउने, लुट्ने हुँदै थियो । तर यस सहकारीलाई नेतृत्वकर्ताले संस्थाको कार्यालय गाउँमै संचालन गर्न मौखिकरुपमा स्विकृति लिएका थिए । बैंकले समुदायलाई सहकारी हस्तान्तरण गर्दा १४ वटा महिला सहित ३४ वटा समूहमा दुई सय २४ जना सदस्य रहेका थिए । जसमा महिला संख्या एक सय आठ थियो भने पुरुषको संख्या एक सय १६ रहेको थियो । त्यतिबेला संस्थासंग २७ हजार शेयर पुँजी र बचत रकम पाँच लाख चालिस हजार मात्रै थियो । कृषि बैंकबाट ४० लाख कर्जा हस्तान्तरण गरेको थियो ।
कारोबारको अवस्था निकै नाजुक थियो । कम बचत, कम लगानी, कम पूँजी र भाखा नाघेको ऋणको अवस्था ४० प्रतिशतभन्दा बढी थियो । सदस्य पनि निकै कम थिए । तत्कालिन गाविसको ९ वटै वडाबाट एक–एक जना संचालक हुनुपर्नेमा सबै तिर कार्यक्रम नपुग्दा एकै वडाका ६ जनासम्म संचालक थिए । त्यसमा पनि पुरुषको संख्या नै बढी थियो । पहिलो आर्थिक बर्ष २०६०।०६१ मा दुई लाख चार हजारको नोक्सान समेत ब्यहोर्नु परेको अनुभव सहकारीका प्रबन्धक पुष्पराज खतिवडाले सुनाए ।
तर अहिले सहकारीमा तीन हजार दुई ३४ जना शेयर सदस्य रहेका छन् भने महिलाको संख्या ९६ प्रतिशत रहेको छ । शेयर पुँजी रकम तीन करोड ८० लाख, बचत रकम ३९ करोड, ५४ करोड लगानी, कुल कारोबार ७० करोड र वार्षिक मुनाफा एक करोड रहेको छ ।
यसैगरी संस्थाले हाल आर्थिक करोबारसँगै दुध, कृषि प्राविधिकसहितको कृषि पसल, आफ्नै दुई विगाह १० कठ्ठा जमीनमा कृषि पाठशाला संचालन गर्दै आएको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बारा समेतको सहयोगमा कृषि उपकरण ट्रेक्टर, थ्रेसरसहित उपकरण राखि कष्टम हायरिङ्ग सेन्टर स्थापना गर्दै बजार मूल्यभन्दा तीन सय रुपैयाँभन्दा कममा जोताई, ढुवानी र थ्रेसिङ्ग सेवा संचालन सुरु गरेको छ ।
यसै वर्षदेखि सुरु हुने गरि धान तथा गहुँको बिउँ उत्पादन तथा प्रशोधन कार्यक्रम सुरु गर्ने कामको अन्तीम तयारी संस्थाले गरेको छ । प्रशोधन केन्द्र स्थापना गरि मेसिन फिटिङ्ग कार्य भईरहेको प्रवन्धक खतिवडाले जानकारी दिए । संस्थाले कम्तिमा दुईजातको धानको विउँ र गहुँको विउँ उत्पादन गरी वितरण गर्ने लक्ष्य लिएको छ । विउँको बढ्दो आयातलाई प्रतिस्थापन गर्न संस्थाको यो कामले राज्यलाई सहयोग पुग्ने आशा छ । गुणस्तरिय विउँ उत्पादनबाट संस्था र यसमा आवद्ध सदस्यको आर्थिक जीवनमा समेत सहयोग पुग्ने विश्वास रहेको खतिवडाको भनाई छ ।
सामूहिक अभियान मार्फत अन्य सहकारी भन्दा भिन्न गतिविधिसहितको आर्थिक कारोबार, कृषि व्यवसायका माध्यमबाट साना किसानहरुको आर्थिक जीवन उकास्ने, कृषिलाई निर्वाहमूखी नभई व्यवसायीकरणमा संस्थाले जोड दिँदै आएको छ ।
संचालक समिति संस्थाको हालसम्म ६ पटक संचालक समिति परिवर्तन भईसकेको छ । स्वर्गीय नारायणप्रसाद खतिवडाले लगातार ११ बर्ष सहकारीको नेतृत्व गरे । त्यसअघि तदर्थ समितिको अध्यक्षको रुपमा पनि खतिवडाले दुई वर्ष सहकारीको नेतृत्व गरे । त्यसपश्चात् नयनकला खड्काले हालसम्म सहकारीको नेतृत्व गर्दै आएकी छिन् । यसै बर्ष खड्काको कार्यकाल सकिन्छ ।
समिति तथा उपसमिति यस सहकारी संस्थाको अहिले एउटा मुख्य संचालक समिति, चार वटा सेवोकन्द्र उपसमिति, ३२ वटा अन्तर समुह, ६ सय ३४ वटा समूह, ऋण समिति, शिक्षा समिति, खरिद समिति, नीति निर्माण उपसमिति, भौतिक निर्माण उपसमिति, पशुधन सुरक्षण समिति, ऋण अनुगमन समिति, धितो मुल्याकन समिति र लेखा सुपरीवेक्षण समितिलगायत रहेको छ । संचालक समिति १३ सदस्यीय छ भने सेवाकेन्द्रहरुमा सात देखि नौ जनासम्म सदस्य रहेका छन् । समितिमा मुख्य कर्मचारी मात्रै सदस्य सचिव रहन सक्ने ब्यवस्था छ ।
भवन निर्माण तथा योगदान
संस्थाको पहिलो कार्यालय बडहर्वा चोकस्थित हुतराज ढुँगानाको घरमा थियो । त्यहिबाट यस संस्थाले दुई जना कर्मचारी नियुक्त गरि सेवा प्रदान गर्दै आएको थियो । तर भाडाको घरमा संस्थाले निकै झन्झट व्यहोर्यो । भाडा, बिजुली, पानी, पार्किङको समस्या मात्रै नभएर भित्तामा कार्यालयको बोर्ड राख्न, काँटी ठोक्नसमेत समस्या हुने गरेको थियो । संस्थाले आर्थिक बर्ष २०६१।०६२ सालमा तीन लाख ६४ हजार मुनाफा गरेको थियो । उक्त मुनाफा कर्मचारी सदस्य कसैले नलिने र त्यो रकमबाट संस्थाकालागि जग्गा खरिद गरि भवन निर्माण गर्ने निर्णय साधारणसभाबाट पास भयो । लगत्तै दुई लाख ७५ हजारमा बडहर्वा चोकमा एक कठ्ठा जमिन खरिद गरियो ।
त्यसपछि भवन निर्माण सुरु गर्न प्रत्येक सदस्यले भवन निर्माण शुल्क एक सय तिर्ने सहमति भयो । करिब २४ लाख रुपैयाको लागतमा २०६७ सालमा भवन निर्माणको कार्य प्रारम्भ भयो । २०७९ सालदेखि यस संस्थाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थाल्यो । हाल सहकारीको मुख्य कार्यालय आफ्नै भवनमा छ भने सेवाकेन्द्र कार्यालयहरु भाडाका घरमा छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ स्थित बडहर्वामा संस्थाको सुविधासम्पन्न दुई तल्ले मुख्य कार्यालय भवन छ । जहाँ सुरक्षा गार्ड, सवारी चालकसहित २० जना कर्मचारी कार्यरत छन् ।
यससँगै कलैया उपमहानगरपालिकाको वडा नं. १६ झिट्कैयामा, वडा नं. २ को भवानीपुरमा सेवाकेन्द्र कार्यालय छ । यस्तै कलैया वडा नं. १६ कै मझौलिमा दुध संकलन केन्द्र, सोको शाखा कलैया वडा नं. २६ को महेशपुरमा संचालनमा छ । जहाँ दैनिक एक हजार पाँच सय लिटर दुध संकलन गरि विक्रि हुँदै आएको अवस्था छ । यसैगरी जीतपुसिमराको बडहर्वा चोकमा मुख्य कार्यालय परिसरमा कृषि प्राविधिकसहितको कृषि पसल संचालनमा छ । जहाँ सुलभ मूल्यमा कृषिकालागि आवश्यक मल विउँ, विषादी र निःशुल्क प्राविधिक सेवा प्रदान गरिदै आएको प्रवन्धक खतिवडाले बताए ।
ऋणका प्रकार तथा ब्याजदर
सहकारीले अहिले नौदेखि १५.५ प्रतिशतसम्म ब्याजदर कायम गरि कर्जा सेवा दिँदै आएको छ । पशुपालन, तरकारी खेतीमा नौ, शौचालय गोबरग्याँस निर्माण गर्न १३ र अन्य व्यवसाय गर्न १५.५ प्रतिशत ब्याज संस्थाले लिने गरेको छ ।
बचतका प्रकार तथा ब्याजदर
संस्थाले १७ भन्दा बढि किसिमका बचत सेवा प्रदान गर्दै आएको छ । जन्मदेखी मृत्युसम्मका लागि सामूहिक तथा व्यक्तिगत रुपमा गर्न सकिने र कर्जा सुरक्षणसम्मका वचत सेवा संचालनमा छन् ।
सामाजिक योगदान
संस्थाको नियमित कामसंगै समाजको लागि सहकारीले योगदान दिदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले स्थानीय विद्यालयमा पंखा वितरण, भवन निर्माण, शौचालय निर्माणमा सहयोग गरेको छ भने ज्येष्ठ सदस्य, अपाङ्गता तथा उत्कृष्ट अंकका साथ एसइइ र १२ कक्षा उतिर्ण गर्ने विद्यार्थी, सहकारीका क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । संस्थाले नियमित रुपमा आँखा तथा स्वास्थ्य परिक्षण शिविर, स्थानीय कृषि बजार संचालन, खेलकुदसहित विपद्बाट पीडित नागरिकलाई आवश्यक आर्थिक सहयोग समेत प्रदान गर्ने गरेको छ ।
शेयर सदस्यकालागि सुविधा
यस सहकारीमा आवद्ध शेयर सदस्यकालागि विशेष सुविधा छ । दुई सन्तानसम्म महिला सदस्य सुत्केरी हुँदा दुई हजार पाँच सय सुत्केरी खर्च दिने गरेको छ । हरेक महिनाको १५ गते भित्र ब्याँज बुझाउने सदस्यले कुल ब्याजमा पाँच प्रतिशतसम्म छुट पाउँने गरेका छन् । सदस्यहरुको घरपरिवारमा डुवान तथा आगलागी जस्ता विपत्ती आईपर्दा आर्थिक तथा खाद्यान्न सहयोग गर्ने गरेको छ । संस्थाले शेयर सदस्यको परिवारमा कसैलाई घातक रोग लागेको अवस्थामा दस हजारसम्म उपचार खर्च र निधन भएमा मृतकको परिवारलाई काजक्रियावापत ३५ हजार र पाँच लाखसम्मको कर्जा मिनाहा गर्दै आएको छ ।
यसैगरी सदस्यले पालन गर्दै आएको पशुको सुरक्षण गर्ने, सदस्यको खेतीमा समस्या आउँदा निःशुल्क प्राविधिक सेवा दिने, सुलभ मूल्यमा विषादी मल विक्री, जुनसुकै सेवाकेन्द्रबाट कारोवार सेवा लिन सक्ने व्यवस्था, संस्थाको आफ्नै एप्स मार्फत कारोवार, एसएमएस सेवा, रेमिट सेवा संचालन र शेयर सदस्यलाई सिपमूलकसहित आयआर्जन तथा वित्तिय साक्षरता सम्बन्धी तालिम दिने गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य र सहयोगमा कृषि उपकरण, मल विउँविषादी, सिंचाई मोटर, पानीका लागि बोरिङ मेसिन समेत उपलब्ध गराउँदै आएको छ ।
संस्थाले पाएको सम्मान
यस सहकारी संस्थाले जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा एकपटक सम्मान पाएको छ भने डिभिजन सहकारी कार्यालय बाराबाट संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा जिल्लाकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । २०८० सालमा राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा मधेश प्रदेशकै उत्कृष्ट सहकारीको संस्था सम्मानित भएको थियो ।