महावीर पुनले जीतपुरसिमरामा बेचे करिब एक हजार चार सय किताब


eShilalekh

१९ भाद्र २०८१, बुधबार १९:३१

सिमराः आफ्नो आत्मकथा समेटिएको किताब बिक्री गरेको आम्दानीले वीरगन्ज कृषी औजार कारखाना चलाउने अभियानमा रहेका महावीर पुनले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा करिब एक हजार चार सय किताब बिक्री गरेका छन् ।

चार दिन अघि सिमरा आएका पुनले जीतपुरसिमराको अमलेखगञ्ज, पथलैया, सिमरा, डुमरवाना, जीतपुरलगायत विभिन्न स्थानमा उक्त संख्यामा किताब बिक्री गरेका हुन् । पुनः आइतबार सिमरा आएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले जीतपुरसिमरा उपमहानगरपालिका, वडा कार्यालय, विद्यालय, सहकारी, बैंक, उद्योग कलकारखाना र बजार क्षेत्रमा किताब बिक्री गरेका हुन् । उपमहानगरपालिकाको कार्यालयले मात्रै तीन लाख रकम बराबरको किताब खरिद गरेको स्थानीय युवा राजदास श्रेष्ठले जानकारी दिए । पुनलाई श्रेष्ठसहित रामचन्द्र लामा, रमेश थापा, विनोद सापकोटा, रघु लामिछानेलगायतका युवाले सहयोग गरेका थिए ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी हुँदै मधेस प्रदेश आएका पुन बुधवार वीरगन्ज जाँदैछन् । उनी दुई दिन सिमरास्थित होटल गौतमराज र दुई दिन होटल श्रेष्ठ रेसिडेन्सीमा बसेका थिए । होटल संचालकले उनलाई निःशुल्क खान र बस्नको व्यवस्था मिलाएका थिए ।

दुई सय १५ दिनदेखि किताब बेच्ने अभियानमा रहेका पुनले हालसम्म एक लाख ३१ हजार किताब बिक्री गरिसकेका छन् । उनि वीरगन्जमा किताब बिक्री गरेर मधेसका अन्य जिल्ला हुँदै कोशी प्रदेश जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्