घण्टीमाई सहकारीको कार्यक्रममा तीजको उल्लास (तस्वीरहरु)


eShilalekh

२१ भाद्र २०८१, शुक्रबार २१:०७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको तीज विशेष कार्यक्रम उल्लासका साथ सम्पन्न भएको छ । तीजको अवसर पारेर संस्थाले तीज गीत प्रतियोगितासहित विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

औराहस्थित शिव मन्दिरमा आयोजना गरिएको कार्यक्रममा एक हजार भन्दा बढी महिला सहभागी हुँदै उल्लासपूर्ण वातावरणमा तीज पर्व मनाएका छन् । शिव मन्दिरमा पूजा गर्न आएका व्रतालु महिलाले उक्त तीज विशेष कार्यक्रममा उपस्थिती जनाएका थिए ।

उल्लासका साथ सम्पन्न उक्त प्रतियोगितामा जीतपुरसिमराका विभिन्न ६ वटा समूहले सहभागिता जनाएका थिए । सहभागीमध्ये नवदुर्गा पूजा समिति औराह प्रथम, लालिगुँरास समूह द्धितीय, हरियाली समूह तृतीय र पाथीभरा एकादशी आमा समूह चौथो भएको छ ।

प्रथमले १० हजार, द्धितीयले पाँच हजार, तृतीयले तीन हजार र चौथाले एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन् । प्रथम पुरस्कार स्थानीय गंगाधर ढकाल, द्धितीय होटल सिमरा ईन, तृतीय भुवप्रसाद ढकाल, चौथो रुद्रप्रसाद खतिवडाले उपलब्ध गराएका थिए ।

कार्यक्रम सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सहयोग गरेका थिए ।

स्थानीय स्तरका संघसंस्था र व्यक्तिको सहयोगमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगर, देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा ३ की कार्यवाहक अध्यक्ष माया विक, कार्यपालिका सदस्य अर्जुन रसाईलीलगायत उपस्थित थिए ।

कार्यक्रममा लोकगायक नेत्रजी पन्त, लोकगायिका शर्मीला बिसिले सांगीतिक प्रस्तुति दिनुका साथै तीज गीत प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरेका थिए । निर्णायक समितिको संयोजकमा बिदुर खड्का थिए ।

संस्थाकी अध्यक्ष कोपिल सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्