प्रधानमन्त्री ओलीले भेटे जीतपुरसिमराका प्रथम मेयर स्वर्गीय पौडेलको परिवार


eShilalekh

२२ भाद्र २०८१, शनिबार १३:३७

सिमराः प्रधानमन्त्री केपी शर्मा ओलीले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेलको परिवारका सदस्यसंग बालुवाटारमा भेट गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार र शनिबार दुई दिन डा. पौडेलकी पत्नी शर्मिला, छोरा सुफल, छोरी सफलतासहित परिवारका अन्य सदस्यसंग भेट गरेका हुन् ।

आफूलाई भेटन शुक्रबार बालुवाटार आएका पौडेल परिवारसंग एक घण्टा कुरा गर्दै प्रधानमन्त्री ओलीले शनिबार बिहानको खाना खान आउने गरी पुनः बोलाएका थिए । आफ्नो निमन्त्रणामा शनिबार पुनः बालुवाटार आएका पौडेल परिवारसंग प्रधानमन्त्री ओलीले करिब एक घण्टा कुरा गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पहिलो दिन भएको भेट ।

भेटमा प्रधानमन्त्री ओलीले डा. पौडेलका छोरा र छोरीको शिक्षाको विषयमा जानकारी लिदै पारिवारिक कुराकानी गरेका थिए । प्रधानमन्त्रीले ओलीले स्वर्गीय डा. पौडेलको छोराछोरीको शिक्षा, पत्नी शर्मिलाका लागि आफूले सहयोग गर्ने बताएका छन् ।
जीतपुरसिमराका प्रथम नगर प्रमुख डा. पौडेलको २०८० असोज २५ गते हृदयघातका कारण निधन भएको थियो । पौडेलको शव जीतपुरसिमरा २ सिमरास्थित आफ्नै घरमा फेला परेको थियो ।

स्वर्गीय डा. पौडेलप्रति श्रद्धान्जली र घटनाबाट शोकाकुल बनेको परिवारलाई समवेदना व्यक्त गर्न २०८० कार्तिक १८ गते ओली डुमरवानास्थित घरमै पुगेका थिए । डा. पौडेलप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले बाल्कोट आएर आफूसंग भेट्न परिवारका सदस्यलाई अनुरोध गरेका थिए । ओली त्यसबेला प्रधानमन्त्री थिएनन् ।

डा. पौडेलकी पत्नी शर्मिलासंग प्रधानमन्त्री ओली ।

झण्डै एक वर्षपछि भेट्न पुगेका परिवारका सदस्यलाई प्रधानमन्त्री ओलीले दुई दिन समय दिएका हुन् । प्रधानमन्त्री ओलीले असोज पहिलो साता आफू अमेरिका जान लागेको र अमेरिकाबाट फर्किएपछि पुनः भेट गर्ने बताएका छन् ।

जीतपुरसिमराका प्रथम नगर प्रमुख डा. पौडेल नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीसंग नजिक थिए । विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेका पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट लोकप्रिय मतसहित जीतपुरसिमराको नगर प्रमुखमा निर्वाचित भएका थिए । डा. पौडेल सहकारी अभियन्ता समेत थिए ।

डा. पौडेलको छोरा र छोरीसंग प्रधानमन्त्री अ‍ोली ।

प्रतिक्रिया दिनुहोस्