निजगढका केरा उत्पादक किसानको आन्दोलन स्थगित


eShilalekh

२३ भाद्र २०८१, आईतवार १७:१८

निजगढः केरा बालीको बीमा सुचारु हुनुपर्ने माग राख्दै संघर्षमा उत्रने घोषणा गरेका निजगढका केरा उत्पादक किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि किसानले आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् ।

केरा बाली बीमा सुचारु हुनुपर्ने माग राख्दै किसानले आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका थिए । मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको बारा फलफूल तथा केरा उत्पादक व्यवसायी संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिए ।

यसअघि संघको नेतृत्वमा निजगढका किसानले जिल्ला प्रशासन कार्यालय निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र बाराका सहायक प्रमुख अधिकारी छविरमण भट्टराईलाई गत भदौ १५ गते ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमार्फत संघले केराबालीको बीमा कार्य सुचारु नभए भदौ २३ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

अघिल्लो वर्षहरुमा संघीय सरकारको सहयोगमा बीमा समितिमार्फत बीमा कम्पनीको ८० र किसानको २० प्रतिशत रकममा किसानको केरा बालीको बीमा हुँदै आएको थियो । सोही अनुसार बीमा गर्न बीमा कम्पनीहरु अनिच्छुक देखिएपछि किसान आन्दोलित बनेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा साना किसानको लागि मात्रै ८० प्रतिशत अनुदानमा केरा बालीको बीमा गर्ने उल्लेख गरेको छ । बीमा कम्पनीले बजेटमा उल्लेख भएअनुसार साना किसानको मापदण्ड स्पष्ट नभएसम्म बीमा गर्न नसक्ने जनाउँदै आएको थियो । मन्त्रालयले साना किसानको स्पष्ट मापदण्ड खुलाएर बीमा कम्पनीमा पत्र पठाउने तयारी गरेपछि निजगढका किसानले आन्दोलन स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्