बाढीले बगाएर बेपत्ता माझीको शव बकैया खोलाको बगरमा फेला
सिमराः बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एक जनाको शव मंगलबार फेला परेको छ । फेला परेको शव रौतहट चन्द्रपुर नगरपालिका २ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको रहेको छ ।
माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माझी मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका थिए । उनी बकैया ६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
निजगढबाट खटिएको टोलीले माझीलाई प्रादेशिक अस्पताल कलैया पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा खोला किनारमा शव फेला परेको भण्डारीले बताए ।