पशुबलीविरुद्ध कलैयामा शान्तिपूर्ण र्‍याली


eShilalekh

२८ भाद्र २०८१, शुक्रबार २१:१७

कलैयाः नजिकिदै गरेको विश्वप्रसिद्ध गढीमाई मेलामा पशुबली नचढाउन आग्रह गर्दै पशु कल्याण संघ नेपाल र स्नेहाज केयरले शुक्रबार कलैयामा शान्तिपूर्ण र्‍याली निकालेको छ । गढीमाई मेलामा हुने पशुबलि निरुत्साहित गर्न अभियान संचालन गर्दै आएको संघले सचेतनामूलक र्‍याली निकालेको हो ।

बारा महिला विकास मञ्चको सहकार्यमा आयोजित र्‍यालीमा झण्डै चार सय महिला सहभागी थिए । ‘बलि पशुको होईन अन्धविश्वासको दिऔं’ भन्ने नारासहित जानकी मन्दिरबाट सुरु भएको र्‍याली कलैया बजार परिक्रमा गर्दै पुनः मन्दिरमा आएर सम्पन्न भएको थियो ।

संघकी अध्यक्ष स्नेहा श्रेष्ठले गढीमाई मेलासहित देशभर हुने पशुबलीलाई निरुत्साहित गरौं भन्ने सन्देश प्रवाह गर्नका लागि शान्तिपूर्ण र्‍याली निकालिएको बताईन् । र्‍यालीमा स्थानीय महिलाले उत्साहजनक सहभागिता देखाएकोमा खुशी लागेको बताउँदै श्रेष्ठले गढीमाई मेलालाई हिंसारहित बनाउन समेत आग्रह गरिन् ।

मनोकामना पूरा हुने अन्धविश्वासमा पशुको बली चढाउने भन्दा पनि फलफुल, लड्डु, सिन्दुर चढाउनुपर्छ भन्ने सन्देश प्रवाह गराउन आफूहरु लागिपरेको श्रेष्ठको भनाई छ । ‘गढीमाई मेला हिंसारहित हुनुपर्छ, पशुबलि अन्त्य गर्नुपर्छ भनेर हामी लागिरहेका छौं’ श्रेष्ठले भनिन् ‘नागरिक सचेत हुँदै गएको पाएका छौं । सरोकारवाला निकायले पनि साथ दिईरहेका छन् ।’

बारा महिला विकास मञ्चकी अध्यक्ष एवम् पूर्वमन्त्री कलावती पासवानले पशुबली अन्त्य गर्नका लागि महिलाले घरघरमा आवाज उठाउन जरुरी रहेको बताईन् । र्‍यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पासवानले पुरुषले भन्दा बढी भाकल महिलाले गर्ने गरेको भन्दै महिलाले नै बलिविरुद्ध आवाज उठाउन जरुरी रहेको बताएकी थिईन् । पासवानले पशुको बलि दिएर मनको शान्ति हुने भन्दा देवीलाई खुशी बनाउन फलफुल चढाउन अनुरोध गरिन् ।

सर्वोच्च अदालतले समेत २०७३ सालमा पशुबलीलाई सहयोग वा प्रोत्साहन हुने कार्य सरकारका तर्फबाट नगर्न र त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउन भनि परमादेश जारी गरेको थियो । पशु कल्याण संघ नेपालले पशुबलीविरुद्ध सर्वोच्चको परमादेश कार्यान्यवनका लागि सरोकारवाला निकायलाई ताकेता गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्