निजगढमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु


eShilalekh

३१ भाद्र २०८१, सोमबार ११:११

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाईते भएका छन् ।

बिराटनगरबाट दाङतर्फ जाँदै गरेको ना८ख ११६४ नम्बरको यात्रुबाहक बस सोमबार बिहान ३ बजे निजगढ नगरपालिका ८ स्थित उनासी पुलमा दुर्घटना भएको हो । बस उनासी पुलबाट तल खसेको थियो ।

दुर्घटनामा दाङ देवखुरी गटवा गाउँपालिका ५ का ४५ वर्षीय चेतन राय यादवको उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका ४२ यात्रु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेमा बस चालक सल्यान शारदा नगरपालिका ३ का ४० वर्षीय भोलाबहादुर भण्डारी, प्युठान सरुमारानी गाउँपालिका ३ का ४६ वर्षीय ईमा रामु सुनार, सरुमारानी गाउँपालिका १ का ३५ वर्षीय बलबहादुर दमाई, शारदा नगरपालिका ५ का ५५ वर्षीय बलबहादुर मगर, दाङ मटिअर्वाका ३५ वर्षीय दयाराम यादव, दाङ राजपुरका २१ वर्षीय चितराम यादव, प्युठानका ५९ वर्षीय गंगाराम विक, धनकुटा चौबीसे गाउँपालिका ५ की ३५ वर्षीया खेमकुमारी याखा रहेका छन् ।

उनिहरुलाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ । दुर्घटनामा घाईते भएका अन्यको अवस्था सामान्य छ । दुर्घटनालगत्तै निजगढस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाईतेको उद्धार गरी अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्