जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलः सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ता क्वाटरफाइनमा


eShilalekh

२ आश्विन २०८१, बुधबार २०:००

सिमराः चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत बुधबार एकैदिन चार खेल सम्पन्न भएका छन् । सिमरा रंगशालामा सम्पन्न खेलमा सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ताले जीत हात पारेका छन् ।

बिहान ७ बजे भएको पहिलो खेलमा ए.बि.सी. भेट्रान क्लब पोखराले हाम्रो धरान भेट्रान फूटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

धरानले लिएको २–० को अग्रता उल्टाउदै खेल टाईब्रेकरमा लगेको पोखराका लागि संजयकुमार गुरुङ, विश्वलाल श्रेष्ठ, तेजबहादुर थापाले गोल गरेका थिए भने विकर्ण श्रेष्ठ र पूर्णबहादुर गुरुङ गोल गर्न चुके ।

यता धरानका लागि पदमकुमार राई र अशोख्य राईले मात्रै गोल गरे । धरानका कुमार तामाङ, मणिराज लिम्बु र निर्मल तामाङले असफल हुँदा पोखराले बाजी मारेको हो ।

यसअघि निर्धारित समयमा सतिश केसीको दुई गोलको मद्यतबाट धरानले खेलमा अग्रता बनाएको थियो । तर पोखरा निलेन्द्र देवान र राजकुमार घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यसैगरी दास्रो खेलमा सिमराको नव जनजागृति भेट्रान क्लब हेटौंडा भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । नव जनजागृतिका लागि ओम पाल सिंह बस्नेतले दुई र दिलकुमार कार्कीले एक गोल गरेका थिए । हेटौंडाका लागि राजेन्द्र थापाले एक गोल फर्काएका थिए ।

तेस्रो खेलमा क्लिभ हाउस भेट्रान क्लब कोलकत्ताले चितवन भेट्रान क्लबलाई १–० ले पराजित गरेको हो । कोलकत्ताका लागि बिजय अधिकारीले दोस्रो हाफको १३औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यसैगरी चौथो खेलमा युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङले वीरगन्ज सिटी फूटबल क्लबलाई ३–१ ले पराजित गरेको हो । दार्जिलिङका लागि सुदिप राई, नोर्बु लामा, ग्याल्सेन लामाले समान एक–एक गोल गरे भने वीरगन्जका लागि सुरेश श्रेष्ठले एक गोल फर्काए ।

प्रतियोगिता अन्तर्गत विहीबारदेखि क्वाटरफाइनल खेल सुरु हुँदैछ । बिहान ६ बजे सुरु हुने पहिलो खेलमा आयोजक सिमरा भेट्रान क्लब र कटारी टाईगर फूटबल क्लब भिड्दैछन् । यसैगरी बिहान ८ बजे रियल फ्रेण्ड भेट्रान सिक्किम र सरस्वती नगर भेट्रान क्लब काठमाडौंबीच दोस्रो खेल हुनेछ ।

तेस्रो खेल क्लिभ हाउस भेट्रान क्लब कोलकत्ता र युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङबीच दिउँसो ३ बजे हुनेछ भने त्यसलगत्तै ए.बि.सी. भेट्रान क्लब पोखरा र नव जनजागृति भेट्रान क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल असोज ५ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्