जीतपुरसिमरा भेट्रान फूटबलः सिमरा, काठमाडौं, पोखरा र कोलकत्ता सेमिफाइनलमा प्रवेश


eShilalekh

३ आश्विन २०८१, बिहीबार २०:२५

सिमराः चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सिमरा रंशलामा विहीबार सम्पन्न चार वटा क्वाटरफाइनल खेलमा सिमरा, काठमाडौं, कोलकत्ता र पोखरा बिजयी भएसंगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा आयोजक सिमरा भेट्रान क्लब, सरस्वती नगर भेट्रान काठमाडौं, क्लिभ हाउस भेट्रान क्लब कोलकत्ता र ए.बि.सी. भेट्रान क्लब पोखरा प्रवेश गरेका हुन् । सिमराले पहिलो क्वाटरफाइनल खेलमा कटारी टाईगर फूटबल क्लब उदयपुरलाई ४–० ले पराजित गरेको हो । सिमराको जीतमा कृष्ण शाक्य नायक बने । उनले ह्याट्रिक पूरा गरे भने भेषराज लिम्बुले एक गोल गरे ।

दोस्रो क्वाटरफाइनल खेलमा सरस्वती नगर काठमाडौंले रियल फ्रेण्ड भेट्रान सिक्किममाथि ४–१ को सहज जीत निकाल्यो । काठमाडौंको जीतमा अनल आचार्य, युवराज भुजेल, हर्कराज गुरुङ र किशोर नेपालीले एक–एक गोल गरे । सिक्किमका लागि मयल लेप्चाले एक गोल फर्काए ।

तेस्रो क्वाटरफाइनल खेलमा कोलकत्ताले युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङलाई ३–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । कोलकत्ताको जीतमा रञ्जन शंकर, विश्वजीत बेक र दीपक मण्डलले एक–एक गोल गरे ।

यसैगरी अन्तिम क्वाटरफाइनल खेलमा नव जनजागृति भेट्रान क्लब सिमरालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै ए.बि.सी. भेट्रान क्लब पोखरा प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरेको हो । पोखराको जीतमा विकर्ण श्रेष्ठले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए भने निलेन्द्र देवान र कन्या सुब्बा गुरुङले एक–एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछ । सिमरा रंगशालामा बिहान ६ बजे हुने पहिलो खेलमा आयोजक सिमरा भेट्रान र कोलकत्ता भिड्नेछन् भने दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा काठमाडौं र पोखरा प्रतिस्पर्धा गर्नेछन् ।

असोज ५ गतेसम्म आयोजना हुने प्रतियागिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १४ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्