बारामा उल्लासका साथ मनाईयो संविधान दिवस


eShilalekh

३ आश्विन २०८१, बिहीबार २१:३७

सिमराः संविधान दिवस बारामा पनि उल्लासका साथ मनाइएको छ । दिवसका अवसरमा बाराका विभिन्न स्थानमा दीप प्रज्वलन, प्रभातफेरी, दिपावली, वृक्षरोपण र झण्डोत्तोलन गरिएको छ ।

जिल्लास्थित सरकारी कार्यालयले मात्र नभई अन्य कार्यालय, स्थानीय संघसंस्था र स्थानीयबासीले समेत उल्लासका साथ संविधान दिवस मनाएका छन् । कलैयामा जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा वृहत् प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरीमा बाराका जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्कालगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीलगायत उपस्थित थिए । प्रभातफेरीलगत्तै सिद्धेश्वर मन्दिरमा वृक्षरोपण गरिएको थियो ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् । निजगढ नगरपालिकामा नगर प्रमुख सुरथ पुरीले झण्डोत्तोलन गरेका थिए । सो कार्यक्रममा मधेस प्रदेश सभासदस्य मिना लामा, उपप्रमुख सोममाया थिङ, महाबीर पुन समेत सहभागी थिए ।

पचरौता नगरपालिकामा नगर प्रमुख जलान्धर सिंहले झण्डोत्तोलन गरेका थिए भने कार्यालयमा दीपावली गरिएको थियो । यसैगरी कोल्हबी नगरपालिकाले प्रभातफेरीको आयोजना गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले कलैयास्थित भरत चोकमा दिपावली गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयले दीपावली गरेको छ । कार्यालय परिसरमा आयोजित दिपावलीमा वडाध्यक्ष हरिदेव खरेलगायत उपस्थित थिए । सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय र जीतपुरसिमरा १६ पिलुवास्थित शान्ति वाटिकामा पनि झण्डोत्तोलन गरिएको छ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । संविधान दिवसका उल्लासका साथ मनाउन सरकारले आग्रह गरेको थियो । दिवसका अवसरमा देशभर सार्वजनिक विदा समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्