केही संस्थालाई उदाहरण बनाएर सिंगो सहकारी क्षेत्रलाई बदनाम गर्न मिल्दैनः उपाध्यक्ष पाठक


eShilalekh

६ आश्विन २०८१, आईतवार २१:५३

पुष्पराज खतिवडा

हेटौंडा: राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले केही सहकारी संस्थाले गरेको बदमासी देखाएर सिंगो सहकारी अभियानलाई गलत भनेर व्याख्या गर्न नहुने बताएका छन् । पाठकले सहकारी सिद्धान्त विपरित चलेका केही सहकारी संस्थाको उदाहरण सिंगो क्षेत्रमा लागू नहुने र त्यो उदाहरणले सिंगो क्षेत्रमाथी प्रश्न उठाउन नमिल्ने बताए ।

वागमती प्रदेशको हेटौंडामा आइतबार आयोजित साना किसान कृषि सहकारी संस्थाका पदाधिकारीको क्षमता विकास तथा वार्षिक समीक्षा गोष्ठिलाई सम्बोधन गर्दै पाठकले सहकारी सिद्धान्त विपरित चलेका, वित्तिय अनुशासन उलंघन गरेका र सदस्यप्रति उत्तरदायी नहुने सहकारी संचालकका कारण त्यस्ता संस्थामा समस्या आएको बताएका छन् । त्यस्ता सहकारी संस्थालाई देखाएर सबै सहकारी संस्था ठग हुन् भन्ने भास्य निर्माण गर्न नमिल्ने पाठकको भनाई थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष समेत रहेका पाठकले देशभर रहेका ३२ हजार भन्दा बढी सहकारी संस्थामध्ये शहर केन्द्रीत दुई सय ५० संस्थामा समस्या देखिएको र २३ वटा बन्द भएको बताए । त्यस्ता केही सहकारी संस्थाको लापरवाहीले सिंगो क्षेत्रलाई बदनाम गर्न नमिल्ने पाठकको तर्क थियो ।
ग्रामिण क्षेत्रमा कृषि उत्पादनमा वृद्धि, गरिब विपन्न महिलाहरुको क्षमता विकास र आर्थिक सामाजिक रुपान्तरणमा खेलेका भुमिका र योगदान अहम रहेको बताउँदै पाठकले सहकारीको सिद्धान्त, मूल्य, मान्यता भित्र रहेर काम गर्ने सहकारीमा समस्या नआएको बताए ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौंडाले आयोजना गरेको गोष्ठिमा बारा, पर्सा ,रौतहट, मकवानपुर र चितवनमा रहेका ८० वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र प्रवन्धकको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघ लिमिटेडकी कोषाध्यक्ष गीता केसी, लेखा समिति संयोजक महेश्वर सुवेदी, साना किसान विकास लघुवित्त वित्तिय संस्थाका नायव मुख्य प्रबन्धक पृथबहादुर थापा, काठमाण्डौं शाखाका प्रमुख भोलानाथ रेग्मी र हेटौंडा शाखाकी प्रबन्धक कृष्णकुमारी शर्मा, वागमती प्रादेशिक कृषि सहकारी संघकी उपाध्यक्ष विमला कार्की लगायत सहभागी थिए ।
सहकारी संस्थाले गत आर्थिक वर्षमा गरेको कारोबार, मुनाफा, आगामी योजनासहित सबल र दुर्बल पक्षका बारेमा समीक्षा समेत गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लिमिटेडमा सुशासन कायम राख्ने सम्बन्धमा १५ बुँदे घोषणापत्र जारी गर्दै गोष्ठी सम्पन्न भएको वित्तिय संस्थाका अधिकृत विष्णुप्रसाद कालाखेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्